बाराको जीतपुरसिमरा–४ औराहामा आईतबार विहान वर्षासंगै परेको चट्याङ्ग लागेर एक युवतीको मृत्यु भएको छ ।
गोठालो गएको बेलामा चट्याङ्ग लागेर २२ वर्षिया एलिसा खड्का अधिकारी गम्भिर घाईते भएकी थिईन् । उनको उपचारका लागि वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
यसैबिच, मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज वाइबाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका मकवानपुरगढी–२ माथिल्लो छापका ४६ वर्षीय वीरबहादुर वाइबा र ५६ वर्षीय वीरवल वाइबा घाइते छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।