तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा योङ्गस्टार युवा क्लव र निजगढ युवा क्लव ए बिजयी भएका छन ।
मंगलबार सम्पन्न पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लवलाई ४—१ गोल अन्तरले पराजित गर्यो ।
खेलको छैठौ मिनेटमै चौताराले प्राप्त गरेको कर्नरमा राजकुमार सारु मगरले हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । तर चौताराले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजित बन्यो । १७ औ मिनेटमा योङ्गस्टारका अरुण लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
योङ्गस्टारलाई अग्रता दिलाउने क्रममा ३२ औ मिनेटमा रवी लामाले थप गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा योङ्गस्टारका विनय लामाले गोल गर्दै पहिलो हाफमा योङ्गस्टारलाई ३—१ को अग्रता दिलाए ।
दोश्रो हाफमा चौतारा खेलमा फर्कने लयमा देखिएपनि गोल गर्न सकेन । दोश्रो हाफको अतिरिक्त समयमा योङ्गस्टारका अरुण लामाले व्यक्तिगत दोश्रो गोल गर्दै योङ्गस्टारलाई ४—१ को जित दिलाए ।
खेलमा योङ्गस्टारका शुकमान लामा र चौताराका शिव बोहोराले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भए ।
सोमबार सम्पन्न दोश्रो खेलमा निजगढ युवा क्लव ए ले निजगढ १३ युवा क्लवलाई ९—१ गोल अन्तरले पराजित गरेकोछ । निजगढ १३ माथि एकपक्षीय रुपमा हाबी भएको खेलको ७ औ मिनेट मै निजगढ युवा क्लवका समिर तामाङले गोल गरेका थिए । समिरकै गोलमा निजगढ युवा क्लवले १४ औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।
निजगढ १३ का सुन्दर विश्वकर्माको आत्मघाती गोल संगै निजगढ युवा क्लवको अग्रता तेब्बर बनेको थियो । ३२ औ मिनेटमा निजगढ युवा क्लवका समिरले ह्याट्रिक पुरा गरे । तेस्को दुई मिनेट पश्चात नै समिरले व्यक्तिगत गोल संख्या ४ बनाउंदै निजगढ युवा क्लवलाई ५—० को अग्रता दिलाए । पहिलो हाफमा ५ गोल व्यहोरेको निजगढ १३ कालागि खेलको ४७ औ मिनेटमा संदेश लामाले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काए । निजगढ युवा क्लवले डी बक्स भित्र गरेको फल पश्चात प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै निजगढ १३ का संदेशले सान्त्वना गोल गरेका थिए । लगत्तै खेलको ४९ औ मिनेटमा निजगढ युवा क्लवका समिरले व्यक्तिगत ५ औ गोल गर्दै टोलीलाई ६—१ को अग्रता दिलाए ।
निजगढ १३ माथि निकै आक्रामक रुपमा प्रस्तुत भएको निजगढ युवा क्लवकालागि ५२ औ मिनेटमा जन्मेजय धामीले गोल गर्दै अग्रता बढाएका थिए । खेलको ६१ औ मिनेटमा निजगढ युवा क्लवका धनराज विश्वकर्माले गोल गर्दै टोलीलाई ८—१ को अग्रतामा पुर्याए । निजगढ युवा क्लवका समिर तामाङले खेलको ७० औ मिनेटमा दोहोरो ह्याट्रिक गर्दै टोलीलाई ९—१ गोल अन्तरको विजय दिलाए । खेलमा निजगढ १३ युवा क्लवका सुनिल विश्वकर्माले पहेलो कार्ड प्राप्त गरेका थिए । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का समिर तामाङ भए ।
प्रतियोगिता अन्तर्गत बुधबार एफसी कोलगाउ र निजगढ वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुनेछ । खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।