निजगढमा नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारि शुरु भएको छ । प्रतियोगिता निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको हो ।
प्रतियोगिता फागुन १ गतेबाट शुरु हुने आयोजक निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापाले जानकारी दिए । फागुन १ देखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाका १३ वटै वडाका विभिन्न क्लवहरुको सहभागिता रहने अध्यक्ष थापाले बताए ।
निजगढको वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ४५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामाले जानकारी दिए ।
प्रतियोगिता संचालनको लागि करिब ८ लाख रुपैंया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता संचालनको लागी आवश्यक ८ लाख रुपैंया निजगढ नगरपालिकाले उपलब्ध गराउने आयोजकले जनाएको छ ।
कोरोना भाईरस संक्रमणको कारण गत वर्ष संचालन हुन सकेको थिएन । यस अगि निजगढ नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उपाधि वडा नम्बर ५ ले र पहिलो संस्करणको उपाधि वडा नम्बर ४ ले जितेको थियो ।