विशेष अदालतले एक हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका कलंकी मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई आरोपबाट सफाइ दिएको छ । तर सुवेदीले अभियोग प्रमाणित हुन नसकी आफूले सफाइ पाएको फैसला सुन्न भने पाएनन् । मुद्दा चलेर धरौटीमा छुटेको एक सातापछि उनले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।

अख्तियारले गत वर्षदेखि घुस बुझाउनेले सूचना नदिए पनि आफैंले निगरानी गर्ने र घुस लिए/दिएको देखिए भ्रष्टाचार मुद्दा चलाउने अभियान थालेको थियो । त्यसै क्रममा गत साउनमा कलंकी मालपोतबाट केही दिनको सीसीटीभी फुटेजको रेकर्ड उठाएर ल्याएको थियो । त्यस क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अख्तियारले उनलाई झिकायो ।

बयानकै क्रममा अख्तियारले साउन २२ गते उनलाई हिरासतमा राख्यो । ४० रात हिरासतमा राखेपछि ४१औं दिनमा मुद्दा चलायो । मुद्दा दायर भएको रातसमेत अख्तियारमै बिताएर उनी भदौ ३१ गते धरौटीमा रिहा भए । मुद्दा चलाइएका घिमिरे पनि त्यही दिन धरौटीमा छुटे ।

छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आत्महत्या गरे । पुस र फागुनमा दुईपटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो । फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन । विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

सनाखतसमेत नभएको सीसीटीभी फुटेजका भरमा निम्नस्तरको कर्मचारी र सेवाग्राहीलाई मुद्दा चलाएको अख्तियारले पूर्वमन्त्री गोकुल बास्कोटा जोडिएको त्यस्तै ‘अडियो टेप’ प्रकरणमा भने मुद्दा चलाउन सकेन । बरु प्रमुख आयुक्त नवीन घिमिरेले फाइल नै तामेलीमा राख्ने प्रयास गरेका थिए । तर साना मुद्दामा भने उनको रुचि निरन्तर देखिन्थ्यो । अख्तियारले त्यही दिन कलंकी मालपोतबाट ६ जनामाथि मुद्दा चलाएको थियो । एक कर्मचारीमाथि त एक हजार र अर्कोले दुई हजार लिएको आरोपमा दुई फरक मुद्दा चलाइएको थियो । अर्को एउटा मुद्दा एक हजार रुपैयाँ बिगोको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय