आर्थिक वर्ष २०७६/०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको देखिन्छ ।
जबकी त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेर ज्यान फालेका थिए ।
गत साउनमा महिनामा ७०९ जनाले आत्महत्या गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आंकडाअनुसार दैनिक २२ जनाले आत्महत्या गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरू मध्ये सातौं स्थानमा पर्छ । विगतको तुलनामा यो वर्ष बढी आत्महत्या हुनुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन र निषेधाज्ञा प्रमुख कारण रहेको मनोचिकित्सकहरू बताउँछन् ।
विश्वमा हुने आत्महत्यामध्ये ७९ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आय भएका देशहरू गर्दछन् । लगातारको निषेधाज्ञा र लकडाउनले गर्दा निम्तिएको बेरोजगारी, आर्थिक नोक्सानी, मन नपरेको मान्छेसँग लामो समय बिताउन बाध्य हुनु, मनोरञ्जनस्थलमा जान नपाउनु, जताततै कोरोनाकै मात्रै कुरा जस्ता कारणले विगतको तुलनामा यो दर बढेको मनोचिकित्सकहरूको विश्लेषण छ ।
‘औषधि, प्रेम र परामर्शले रोक्छ आत्महत्या’
कारण जेसुकै भए पनि आत्महत्या समस्याको समाधान भने किमार्थ होइन । समयमै उपचार खोजे अनाहकमा ज्यान फाल्नबाट रोक्न सकिने जानकारहरू बताउँछन् ।
मनोविश्लेषक बासु आचार्य आफूलाई अरुले अस्वीकारेको कुरा सहन नसक्दा आत्महत्या जस्तो गलत बाटो रोजेको पाइएको बताउँछन् । उनको सुझाव छ, ‘सबैभन्दा पहिला तपाईँलाई के कुराले गाह्रो भएको छ त्यो पहिचान गर्नुस्, समस्या समाधान गर्न सकिदैन जस्तो लाग्छ भने तुरुन्त विज्ञको परामर्श लिनुहोस् ।’
परिवारका सदस्य, आफन्त र साथहरुले पनि मानसिक समस्यामा भएका व्यक्तिलाई साथ दिनुपर्ने आचार्यको भनाइ छ । ‘मानसिक समस्या परेको व्यक्तिले अस्वाभाविक कुरा गरेको छ भने पनि यस्तो थाङ्ने कुरा नगर भन्नुहुँदैन ’, उनी भन्छन्, , ‘परिवारको प्रेम, औषधि र परामर्शबाट आत्महत्या रोक्न सकिन्छ ।’
मनोविश्लेषक आचार्य भन्छन्, ‘एउटा कुरा नबिर्सनुस्, कोरोना, लकडाउन, आर्थिक क्षति, नोकरीजस्ता समस्या तपाईँको जीवन भन्दा मूल्यवान हुँदै होइन ।’