नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका विषयमा अफवाह फैलाइएको बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालको पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलाई जोडेर केही दिनदेखि विभिन्न संचार माध्यम र सामाजिक संजालमा सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

उनले सामाजिक सञ्जालमा आफ्नो नक्कली खाता बनाएर पनि दुष्प्रचार गरिएको उल्लेख गरेका छन् । उनले अर्को कार्यकालको पुनर्नियुक्तिका विषयमा प्रधानमन्त्री र मन्त्रीसँग जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेका छन्।

घिसिङले नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले नेपाल सरकारको निर्देशन तथा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत उल्लेखनीय उपलब्धि हासिल भएको र यो उपलब्धि आफ्नो व्यक्तिगत प्रयासले मात्र हासिल नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एव मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।’ 

भदौ ९ गते मन्त्रिपरिषद्को बैठक बसिरहेका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा अर्को कार्यकालका लागि पुनर्नियुक्ति गरेको भनी सामाजिक संजाल र मिडियाहरुमा प्रचार भएको थियो ।

विहिबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जालले नै प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरेको, तर सरकारले यसबारे कुनै निर्णय नगरेको स्पष्ट गरेका थिए ।

उनले भने  सामाजिक संजालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि भएको छैन । त्यसैले त्यो लेखाइ र बोलाइमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय