निजगढ नगरपालिकाअन्तरगत कोरोना भाइरस नियन्त्रण, रोकथाम, अनुगमन र समन्वय समितिको हिजो बसेको बैठकले निजगढमा पनि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै निजगढमा कोरोना संक्रमित क्षेत्रबाट अनावश्यक रुपमा हुदै आएकोे आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।
पुर्वपश्चिम राजमार्गस्थित पुर्वमा भमरा र पश्चिममा बकैया खोला पुलमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको चेक पोष्ट स्थापना गरेर बाहिरबाट हुने अवान्छित आवागमनमा रोक लगाउने बैठकले निर्णय गरेको हो ।
बैठकमा अनावश्यक रुपमा आउनेलाई रोक्ने र काम विशेषमा आउनेहरुले पनि सम्बन्धित पालिकाअन्तरगत वडा कार्यालयको सिफारिस पत्र देखाएपछि मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
निजगढ नगरपालिकाका अर्का एक युवकमा बुधबार कोरोना पुष्टि भएपछि बसेको बैठकले आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । निजगढ नगरपालिका वडा नम्बर ९ का २३ बर्षिय युवकमा कोरोना पुष्टि भएको हो ।
वीरगंजस्थित एक हेल्थ ल्यावमा काम गर्दै आएका युवकमा कोरोना पुष्टि भएको निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिए ।
काम विशेषले गत साउन ६ गते काठमाण्डौं गएका ती युवकको घर फर्किने क्रममा १३ गते फर्पिङ्गमा पिसिआर परीक्षण गराइएको थियो । युवक काठमाण्डौंबाट फर्केर सिधै निजगढस्थित घरमा बस्दै आएको बताइएको छ । युवकको अवस्था सामान्य रहेको र हाल उनीसंगै परिवारका सदस्य र निकट सम्पर्कमा रहेका १६ जनालाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिए ।
त्यसैगरी, बैठकले निजगढमा पिसिआर परीक्षणको दायरा बढाउन थप १ हजार थान भिटीएम तथा अन्य आवश्यक औषधिजन्य सामाग्री खरिद गर्ने निर्णय पनि गरेको छ । सेवाग्राहीहरुको सेवाको लागि अग्रपङ्गतिमा रहेर काम गर्दै आउनुभएका जनप्रतिनिधि र कर्मचारीको पिसिआर टेष्ट गर्ने बैठकले निर्णय गरे अनुरुप निजगढ ९ स्थित गौरीशंकर क्याम्पस क्वारेन्टिनका ९ जना ,कोरोना संक्रमितको कनट्रयाक्ट ट्रेसिङमा पहिचान भएका ३२ जना र संचारकर्मि,सुरक्षाकर्मि, प्रहरी थुनुवा कक्ष्मा रहेका २ जना तथा सामाजिक सेवामा सक्रिय अन्य गरी आज ८७ जनाको स्वाब संकलन गरीएको छ ।
संकलित स्वाब बीरगंजस्थित नारायणि अस्पतालमा पठाईने र ३ दिनभित्र रिपोर्ट प्राप्त हुने नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले जानकारी दिए ।
यसैबीच निजगढ नगरपालिकामा कार्यरत एक कर्मचारीमा सक्रमण पुष्टि भएपछि निजगढ नगरपालिका अन्तरगतको प्राविधिक शाखा शिल गरेर कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कार्यलयमा अत्यावश्क बाहेक अन्य सेवा हिजोबाट बन्द गरिएको छ । जिल्लाको जितपुर घर भएका प्राविधिक फाँटका ती कर्मचारीमा पनि बुधबार नै कोरोना पोजेटिभ देखिएको हो । उनको अघिल्लो साता जितपुरसिमरामा स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनको अवस्था पनि सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिए ।