निजगढ, निजगढको तामागढी जंगलमा सढेगलेको अवस्थामा एक युवतिको बेवारिसे शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार निजगढ नगरपालिकाले फोहोर थुपार्ने स्थान (डम्पिङ्ग साइट) नजिकै आज दिउसो ४.५० बजे शरीरको कम्मरमाथिको भाग सढेगलेको र चिन्न नसकिने अवस्थामा रहेको अन्दाजी २०÷२५ वर्ष उमेरको जस्तो देखिन युवतिको शव फेला परेको हो ।
शवको कम्मरभन्दा माथिको भाग गलेर नष्ट भएकाले पाइन्ट र टिसर्ट बाहेक शवको अन्य हुलिया भने पहिचान गर्न नसकिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक युवतिले जिन्सको पाइन्ट र सेतो टिसर्ट लगाएको देखिएको छ ।
निजगढ नगरपालिकाका सफाइ मजदुरहरु फोहोर फ्याक्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको खबर पाएलगत्तै निरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको हो ।
प्रहरीले अहिले साँझ पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाउने तयारी गरिरहेको र घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।



