निजगढ, रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता बनेका निजगढ नगरपालिकाका वडा नम्बर ९ का २ जना युवाहरुको खोजीको लागि वडा अध्यक्ष रामचन्द्र कटुवाल बाढी प्रभावित जिल्लामा रहेका होल्डिङ्ग सेन्टर र अस्पतालहरुमा पुग्नुभएको छ ।
बाढीपछि बेपत्ता निजगढ नगरपालिका ९ का ३९ वर्षिय राजु विष्ट र ३० वर्षिय दिनेश परियारको अवस्था पत्ता लगाउन वडा अध्यक्ष कटुवाल र पीडित परिवारका सदस्यहरु घाइते र मृतकहरुलाई राखिएको भनिएको बाढी प्रभावित जिल्लाका होल्डिङ्ग सेन्टर तथा अस्पतालहरुमा पुगेका हुन ।
चितवन, नवलपरासी, धादिङ्ग, नुवाकोट जिल्लाका होल्डिङ्ग सेन्टर र अस्पतालमा बेपत्ताहरुको खोजी गर्दै आज साँझ नै काठमाण्डौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर विष्ट र परियारको अवस्थाबारे खोजतलास गरिएको वडा अध्यक्ष कटुवालले बताउनुभयो । २ दिनदेखि खोजतलास गरिएको भएपनि उनीहरुको अवस्था अझै पत्ता लगाउन नसकिएको वडा अध्यक्ष कटुवालले जानकारी दिनुभएको छ ।
ट्रक तथा कन्टेनर चालक विष्ट र परियार सामान ढुवानीको लागि रसुवातर्फ गएको र बाढीपछि उनीहरु सम्पर्कविहीन भएका थिए ।
पीडित परिवारका सदस्यसहित वडा अध्यक्ष कटुवाल शनिबार बिहान निजगढबाट बाढी प्रभावित जिल्लातर्फ लागेको थियो । त्यसैगरी त्रिशुली जलविद्युत परियोजनामा सवारी चालकको काम गर्ने निजगढ ८ का उत्तम न्यौपानेको अवस्था पनि बाढीपछि अज्ञात छ ।
परिवार तथा आफन्तले खोजीका लागि सरकारसँग आग्रह गर्दैआएका छन् ।



