निजगढ, मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्दै निजगढ नगरपालिका मधेश प्रदेशका स्थानीय तहमध्ये सबै स्वास्थ्य संस्थाबाट आधारभूत मानसिक स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने पहिलो स्थानीय तह बनेको छ ।
युनाइटेड मिसन टु नेपाल (ग्ःल्) को आर्थिक सहयोग, प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाको समन्वय तथा सहजीकरण तथा संरक्षण नेपाल बाराको आयोजनामा निजगढ नगरपालिकाका स्टाफ नर्स तथा एएनएम पदमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको ‘मानसिक स्वास्थ्य मनोपरामर्श तालिम सम्पन्न भएसँगै नगरपालिकाले यो उपलब्धि हासिल गरेको हो ।
नगरपालिकाका स्वास्थ्यकर्मीहरूलाई मानसिक तथा मनोसामाजिक समस्या पहिचान, आधारभूत मनोपरामर्श सीप, मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्रवाह तथा रेफरल प्रणालीको विषयमा सैद्धान्तिक र व्यावहारिक जानकारी प्रदान गर्न असार २२ गतेबाट शुरु भएको सो तालिम शुक्रवार सम्पन्न भएको हो ।
तालिम सम्पन्न भएसँगै अब निजगढ नगरपालिकाका सबै ११ वटा स्वास्थ्य संस्थाबाट आधारभूत मानसिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुनेछ भने तीमध्ये ६ वटा स्वास्थ्य संस्थाबाट थप विशेषज्ञ मनोपरामर्श सेवा पनि प्रदान गरिने निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनुभयो ।
तालिमका क्रममा सामूहिक तथा व्यक्तिगत अभ्यासमार्फत सहभागीहरूको परामर्श क्षमता अभिवृद्धि गरिएको आयोजकले जनाएको छ ।
तालिम समापन समारोहमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, युएनएमका प्रतिनिधि, प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका प्रतिनिधि तथा संरक्षण नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सुरथ पुरीले मानसिक स्वास्थ्यलाई अब बेवास्ता गर्न नसकिने विषय भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर नागरिकलाई गुणस्तरीय सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय तहबाट मानसिक स्वास्थ्य सेवाको प्रभावकारी विस्तारका लागि नगरपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
तालिममा सहभागी एक स्वास्थ्यकर्मीले तालिमले मानसिक स्वास्थ्य समस्याको पहिचान, प्रारम्भिक परामर्श तथा आवश्यक परेमा समयमै रेफर गर्ने सीपबारे जानकारी र ज्ञान प्राप्त भएको बताउँदै यसबाट सेवाग्राहीले आफ्नै स्वास्थ्य संस्थाबाट सहज रूपमा मानसिक स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन ।
यससँगै मानसिक स्वास्थ्य समस्याको पहिचान, प्रारम्भिक उपचार तथा मनोपरामर्श सेवा स्थानीय स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउने व्यवस्था लागू गर्ने मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये निजगढ नगरपालिका पहिलो स्थानीय तह बनेको छ । यस उपलब्धिले निजगढ र आसपासका पालिकाका सर्वसाधारणमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै मानसिक स्वास्थ्यप्रतिको सामाजिक चेतना अभिवृद्धि गर्न समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यससँगै मानसिक स्वास्थ्य समस्याको पहिचान, प्रारम्भिक उपचार तथा मनोपरामर्श सेवा स्थानीय स्वास्थ्य संस्थाबाट नै उपलब्ध गराउने व्यवस्था लागू गर्ने मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये निजगढ नगरपालिका पहिलो स्थानीय तह बनेको हो ।



