निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले प्राङ्गारिक मल उत्पादन गर्ने भएका छन । डिभिजन वन कार्यालय बारा सिमरा र वन समुहको ११ लाख बजेटमा समूहका सदस्यलाई प्राङ्गारिक मल, बिकेट तथा बायोचाट सम्बन्धि ३ दिने तालिम संचालन गरेपछि उपभोक्ताहरुमा मल बनाउने उत्साह बढेको हो । मल बनाउने प्रयोजनको लागि समूहले एउटा ट्रस्टसहित ६ वटा बकेट निर्माण गरेको छ ।
उपभोक्ताहरुले वनमा खेर जाने पात पतिङ्गर, गाई भैसीको गोबर र गड्यौंलाको प्रयोग गरेर उन्नत किसिमको मल बनाउने तालिम लिएका छन ।
तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष कटुवालले माटो र जीवन बचाउन प्राङ्गगारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने वडा अध्यक्ष कटुवालको भनाइ छ । उहाँले वडा कार्यालयको आगामी बजेटमा यसलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ निजगढका अध्यक्ष कुशबहादुर थापाले मलको समस्या भइरहेको बेलामा अधिकांश कृषकको बसोबास रहेको निजगढमा रसायनिक मलको प्रयोग घटाउन प्राङ्गगारिक मल विकल्प हुने बताउनुभएको छ । उहाँले चुनौतिपूर्ण अवस्थामा रहेको वन समुह महिलाहरुले नेतृत्व गरिरहेको भन्दै उपभोक्ताको साथ दिनुपर्ने बताउनुभएको छ ।
तालिमका प्रशिक्षक ईश्वर सापकोटाले खेतबारीलाई रोगी र जीवनलाई पनि अस्वस्थ बनाइरहेको रसायनिक मलको सट्टामा जैविक मलको प्रयोग गर्न तालिमले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा निजगढ सव डिभिजन वन कार्यालयकी प्रमुख वन अधिकृत शर्मिला नेपाल, पत्रकार गोकुल घोरसाइनेले मन्तव्य व्यक्त गरेका थिए ।Khop
तालिम पाएपछि आफूहरु प्राङ्गारिक मल बनाउन उत्साही बनेको तालिमका सहभागी हरिप्रसाद बडालले बताउनुभयो । राज्यले पनि प्रयाप्त मल उपलब्ध गराउन नसकेको अवस्थामा प्राङ्गगारिक मल बनाउन तालिम सञ्चालन गरेर वन समुहले प्रशंसायोग्य काम गरेको बडालको भनाइ छ । बडालले तालिममार्फत गोबर मललाई गड्याउला प्रयोग गरेर प्राङ्गगारिक मल बनाउन सिकिएको बताउनुभयो ।
कार्यक्रममा तालिमका सहभागीहरुलाई वडा अध्यक्ष कटुवाल, डिभिजन वन कार्यालय निजगढकी प्रमुख शर्मिला नेपाल, वन समूहकी अध्यक्ष शान्तीकुमारी पहरीले प्रमाणपत्र विरतण गर्नुभएको थियो ।
त्यसैगरी प्रशिक्षक सापकोटालाई प्रशंसा पत्र र वन अधिकृत नेपाललाई मायाको चिनो समेत वितरण गरिएको थियो ।
वन समूहकी अध्यक्ष शान्तिकुमारी पहरीको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सचिव शारदा फकामी र स्वागत मन्तव्य कोषाध्यक्ष रमा न्यौपानेले व्यक्त गर्नुभएको थियो ।
तालिममा वन समूहका ४५ जनाभन्दा बढी उपभोक्ता सदस्यहरु सहभागी थिए ।



