स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण तथा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले निजगढ राइडर्स क्लबले कोरा निजगढ २०८३ साइकल च्यालेन्ज आयोजना गर्ने भएको छ। क्लबले कार्यक्रमको औपचारिक घोषणा गर्दै यस वर्ष ७५ किलोमिटरभन्दा बढी दूरीको साइकल यात्रा गरिने जनाएको हो।
क्लबका अध्यक्ष रामचन्द्र स्याङ्तानको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। बैठकले साइकल यात्राको रुटसमेत तय गरेको क्लबले जनाएको छ। यस वर्षको कोरामा सहभागीहरूले ७५ किलोमिटरभन्दा बढी दूरी पार गर्ने गरी मार्ग निर्धारण गरिएको छ। आयोजकका अनुसार रुट छनोट गर्दा सहभागीको सुरक्षा, प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
क्लबका अध्यक्ष स्याङ्तानका अनुसार कार्यक्रम २०८३ साल साउन २ गते आयोजना हुनेछ। बिहान ७ बजे निजगढ नगरपालिका कार्यालय परिसरबाट सुरु हुने साइकल यात्रा विभिन्न स्थान हुँदै निजगढ–१२ स्थित शक्तिश्वर मन्दिर गुफा क्षेत्रमा पुगेर सम्पन्न हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले असार २८ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। आयोजकले सहभागिता शुल्क एक हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। देशका विभिन्न जिल्लाबाट साइकलप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको क्लबले जनाएको छ।
आयोजकका अनुसार सहभागीले माउन्टेन बाइक, हेल्मेट, पञ्जा (ग्लोभ्स) तथा उपयुक्त जुत्ता अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। सहभागीहरूको सुरक्षालाई विशेष प्राथमिकता दिँदै कार्यक्रम अवधिभर स्वास्थ्य बीमा, मेडिकल टोली तथा आवश्यक प्राथमिक उपचारको व्यवस्था गरिनेछ। साथै सहभागीलाई कार्यक्रमको लोगो अंकित टी–सर्ट, खाजा, खानेपानी, भोजन तथा चिया समेत उपलब्ध गराइनेछ।
क्लबले कार्यक्रम सफल बनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा शुभेच्छुकसँग सहकार्य र प्रायोजनका लागि आग्रह गरेको छ। यस किसिमका कार्यक्रमले साइकलप्रति आकर्षण बढाउनुका साथै स्वस्थ जीवनशैली, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ।
क्लबका अध्यक्ष रामचन्द्र स्याङ्तानले ‘साइकल चलाऔं, स्वस्थ जीवन बाँचौं’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कोरा निजगढ २०८३ मा सबै साइकलप्रेमीलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। उनले कोरा केवल साइकल यात्रा मात्र नभई स्वास्थ्य, वातावरण र सामाजिक उत्तरदायित्वप्रतिको साझा अभियान भएको उल्लेख गरे।



