निजगढ,    नेशनल मेडिकल कलेज प्रालि वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवामा  सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।

कृषि अनुसन्धान निर्देशनालयको कार्यालय परवानीपुरमा कार्यरत र सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा कामदारहरूलाई गुणस्तरीय, सहज र प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउन दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वरप्रसाद यादवले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गर्दा सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्रदान गरिनेछ ।

सम्झौतामा उपचारका लागि आउने लाभाग्राहीहरूलाई अस्पतालमा विशेष सामाजिक सुरक्षा कोषको काउन्टरमार्फत सेवा उपलब्ध गराइने जनाइएको छ । साथै, सामाजिक सुरक्षा कोषबाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्री बाहेकका उपचार सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन् । साथै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा पनि ५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

यस सहकार्य अन्तर्गत वार्षिक स्वास्थ्य परीक्षण, पूर्व–रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकता अनुसार संस्थामै स्वास्थ्य सेवा तथा प्रत्येक त्रैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा समेत सहमति भएको छ ।

त्यसैगरी कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा समावेश गर्ने तथा दुवै संस्थाबीच आवश्यकताअनुसार संयुक्त कार्यक्रम तथा सहकार्य गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता हुने विश्वास लिइएको छ ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय