गोकुल घोरसाइने

निजगढ,     नगरमा पर्यटकहरुलाई आकर्षित गर्न निजगढका कछडिया, माझी र मगर समुदायका महिलाहरुले होमस्टे (घरवास) सञ्चालन गर्ने भएका छन ।

होमस्टे सञ्चालन सम्बन्धि सीप प्रदान गर्न निजगढमा आयोजना गरिएको तालिमको समापन कार्यक्रमका सहभागीहरु महिलाहरुले होमस्टे सञ्चालन गर्न आफूहरु उत्साही बनेको बताएका छन । ‘होमस्टे सञ्चालन गर्ने उत्साहा जागेको छ, तालिमकी सहभागी निजगढ ११ रतनपुरकी सृजना चौधरीले भन्नुभयो, यसको लागि नगरपालिका र स्थानीयको पनि साथ आवश्यक छ ।’ उहाँले तालिमबाट पर्यटकहरुको लागि उचित आवास, खाना, सरसफाइ लगायत पर्यटकमैत्री व्यवहारबारे जानकारी प्राप्त भएको बताउनुभयो ।

तालिमकी अर्की सहभागी निजगढ ४ की माया गुरोले यसअघि होमस्टेको बारेमा यसअघि कुनै जानकारी नभएपनि तालिमपछि गाउँमै होमस्टे सञ्चालन गर्ने आँट बढेको सुनाउनुभयो । उहाँले पनि सबैको सहयोग प्राप्त भयो भने अब गाउँमा होमस्टे सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

होमस्टे सञ्चालन गर्न तालिमका सहभागी महिलाहरुले निजगढ ११ मा कछडिया सामुदायिक होमस्टे, निजगढ ४ मा कछडिया र नमूना माझीगाउँ होमस्टे तथा निजगढ ७ मा पनि समिति गठन गरेका छन । समितिमार्फत होमस्टे सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार परिने उनीहरुको भनाई छ ।

तालिमका प्रशिक्षक मोहन गजुरेल र नकुल धितालले पनि तालिमका सहभागीहरुमा होमस्टे सञ्चालन गर्ने आकांक्षा तीव्र पाइएको बताएका छन । ‘महिलाहरुमा अत्यन्तै उत्साहा र लगनशीलता छ, प्रशिक्षक गजुरेलले भन्नुभयो, यसले होमस्टे सञ्चालन र त्यसको दीगोपनामा सुनिश्चिता दिन्छ ।’

तालिमका सहभागीहरुलाई विभिन्न परिकार तयार पार्ने, घरको सरसफाइ तथा पर्यटकमैत्री व्यवहारलगायत विषयमा ज्ञान र सीप दिइएको थियो ।

निजगढ नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालन गरिएको ७ दिने तालिममा निजगढका आदिवासी कछडिया तथा माझी र मगर समूदायका ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।
निजगढ ४ स्थित बाघभैरव सामुदायिक वन समूहको सामुदायिक भवनमा भएको समापन कार्यक्रममा सहभागी अतिथिहरुलाई परम्पारगत भेषभुषामा आएका तालिमका सहभागीहरुले गीत, नृत्य प्रदर्शन गर्नुका साथै उनीहरुले तयार पारेको परिकार पनि खुवाइएको थियो ।

 

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले नगरपालिकाले निजगढलाई मधेस प्रदेशको पर्यटकीय गन्तव्यको विकास गर्न होमस्टे सम्बन्धि तालिम सञ्चालन गरिएको र तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमका सहभागीहरुलाई नगरपालिका कार्यालयले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । तालिमपछि निजगढमा पर्यटकको गन्तव्यको रुपमा विकास गर्न मद्दत पुग्ने उहाँको भनाई थियो ।

तालिम समापन कार्यक्रममा निजगढ नगर उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा अध्यक्षहरु विशन सापकोटा, सहइया गुरो, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल स्याङ्गतानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय