निजगढ, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिको सभापतिमा सन्जिव भट्टराई विजयी हुनुभएको छ ।
रास्वपा निजगढ नगर समितिको आज भएको अधिवेशनमा सभापतीका अर्का उम्मेदवार नारायणप्रसाद शर्मालाई पराजित गर्र्दै भट्टराई निर्वाचित हुनुभएको हो ।
रास्वपा निजगढका १३ जना वडा सभापतिहरुले मतदानबाट सभापति चयन गरेका हुन । रास्वपाको विधानअनुसार वडाबाट आउने प्रतिनिधिहरुले नगर अधिवेशनमा सहभागी हुने र उनीहरुले नै नगर कार्यसमितिको सभापतिसहित अन्य पदाधिकारीहरु चयन गर्नुपर्ने प्रावधान रहेपनि वडाबाट आवश्यक संख्यामा प्रतिनिधि चयन हुन नसकेको भन्दै केन्द्रीय प्रतिनिधि साजन शर्मासहित निर्वाचन मण्डलले वडा सभापतिहरुको मात्रै मतदान गर्ने निर्णय गरिएको थियो । निर्वाचनमा भट्टराईले ७ र शर्माले ६ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी सचिव पदमा सुरज तिमल्सिना निर्विरोध हुनुभएको छ । उपसभापतिमा सबिना बिष्ट र कार्यसमितिका ५ जना महिला सदस्य यसअघि नै सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन ।
१ जना सहसचिवसहित कार्यसमितिका अन्य सदस्य र जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि चयन पनि बाँकी नै रहेको जनाइएको छ । निर्वाचन समितिले आज बाँकी पदाधिकारीहरुको चयन गर्ने बताइएको छ ।
यसैबीच सभापति पदका प्रत्यासी नारायणप्रसाद शर्माले निर्वाचन प्रक्रिया विधान विपरित भएकोले आफूलाई मान्य नभएको र सोबारेमा सम्बन्धित समितिमा उजुरी गर्ने बताउनुभएको छ । उहाँले विधानअनुसार वडाबाट आउने प्रतिनिधिहरुले सभापति लगायत नगर समितिका पदाधिकारीहरुको चयन गर्नुपर्नेमा विधान विपरित भएको निर्वाचन आफूलाई मान्य नहुने बताउनुभएको हो ।



