खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको कार्यालयमा हप्ताको एक दिनमात्रै बिदा दिइने भएको छ ।
संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले हिजो एउटा सूचना सार्वजनिक गरेर हप्ताको एक दिन शनिवारमात्रै कार्यालय बन्द हुने जनाउनुभएको हो ।
नेपाल सरकारीले हालैबाट सरकारी कार्यालयमा शनिवार र आइतवार गरी हप्ताको दुई दिन बिदा घोषणा पनि निजगढको खानेपानी कार्यालय भने पूर्ववत शनिवार एक दिनमात्रै बन्द रहने कोइरालाले जानकारी दिनुभएको छ ।
सूचनामा भनिएको छ, नेपाल सरकार मातहतका कार्यालयहरू विगतमा शनिवार बिदा दिई आएकोमा हाल नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार हप्तामा २ दिन बिदा हुने भएको छ । तर खानेपानी जस्तो शंवेदनशील र उपभोक्ताहरुको दैनिक जीवनसंग प्रतक्ष्य जोडिएको संस्थाको कार्यालय २ दिन बन्द गर्नुपर्दा जनजीवन असहज हुने देखिएकोले एक दिनमात्रै बिदा दिने जनाइएको छ ।
दुई दिनसम्म कार्यालय बन्द हुँदा सो अवधिमा खानेपानी पाइप लाइनको चुहावट हुन गएमा तत्काल गर्नुपर्ने मर्मत संभार कार्यमा ढिलाइ भएर उपभोक्ताहरू खानेपानी सुविधाबाट बञ्चित रहनसक्ने देखिएकोले विगतमा झै संस्थामा शनिवार मात्र बन्द रहने सूचनामा जनाइएको छ ।
त्यसैगरी अन्य दिनहरू आइतवारदेखि बिहिवारसम्म १० बजे देखि ५ बजेसम्म र शुक्रवार १० बजेदेखि ३ बजेसम्म नै कार्यालय खुल्ला रहने पनि सूचनामा जनाइएको छ । संस्थाले एक दिनमात्रै बिदा दिने सम्बन्धि सो सूचनाको बोधार्थ निजगढ नगरपालिका कार्यालयमा पठाएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।



