बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनालाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले व्यापक रूपमा सचेतनामूलक तथा निगरानीमुखी अभियान सञ्चालन गरिरहेको छ। तीव्र गतिमा बढ्दो सवारी चाप, सडकको कमजोर अवस्था, चालक तथा पैदल यात्रुको लापरवाहीजस्ता कारणले दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले विभिन्न रणनीतिक कार्यक्रम अघि बढाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार दुर्घटना न्यूनीकरण केवल ट्राफिक प्रहरीको एकल प्रयासबाट सम्भव नहुने भएकाले यसका लागि सबै सरोकारवाला निकाय तथा सर्वसाधारण नागरिकको समान सहभागिता आवश्यक छ। उनले समाजमा अझै पनि ‘सडक व्यवस्थापन र दुर्घटना नियन्त्रण ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी हो’ भन्ने सोच कायम रहेकाले अभियानले अपेक्षित परिणाम दिन ढिलाइ भइरहेको बताए।
विशेषगरी बारा जिल्लाको दक्षिणी भेग भारतसँग जोडिएको खुल्ला सीमाका कारण थप चुनौतीपूर्ण बन्दै गएको छ। सीमावर्ती क्षेत्रबाट आवतजावत गर्ने सवारी साधनका चालकहरूमा ट्राफिक नियम पालना गर्ने चेतनाको कमी देखिएको छ। मोटरसाइकल चालकहरूले हेल्मेट प्रयोग नगर्ने, सवारी कागजात नबोक्ने तथा लेन अनुशासन उल्लंघन गर्ने प्रवृत्ति व्यापक रहेको ट्राफिक प्रहरीले जनाएको छ। यही अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सीमावर्ती क्षेत्रमा लक्षित गरी हेल्मेट अनिवार्य, सडक सुरक्षा, लेन अनुशासन तथा पैदल यात्रीमैत्री व्यवहारसम्बन्धी अभियान तीव्र बनाएको छ।
ट्राफिक प्रमुख केसीका अनुसार दुर्घटनाका कारणहरू बहुआयामिक छन। चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति मात्र नभई सडकको भौतिक अवस्था पनि दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएको छ। कतिपय स्थानमा सडक साँघुरा छन, खाल्डाखुल्डीले भरिएका छन, सडक पेटीको अभाव छ भने कतिपय ठाउँमा सडक किनारमै गाईवस्तु बाँध्ने वा खुला छाड्ने गरिएको पाइन्छ। यसले गर्दा सवारी चालकलाई आकस्मिक रूपमा अवरोध सामना गर्नुपर्दा दुर्घटना निम्तिने गरेको छ।
यसका साथै पैदल यात्रुहरूमा पनि ट्राफिक नियमप्रति सचेतना अभाव देखिएको छ। कतिपय अवस्थामा पैदल यात्रुहरू स्वयं मादक पदार्थ सेवन गरेर जथाभावी सडक पार गर्ने, निर्धारित स्थान प्रयोग नगर्ने जस्ता गतिविधिका कारण दुर्घटनाको जोखिम बढाउने गरेका छन। त्यसैले ट्राफिक प्रहरीले चालक मात्र नभई पैदल यात्रुहरूलाई पनि लक्षित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले (मापसे) मादक पदार्थ सेवन परीक्षणलाई कडाइका साथ लागू गरेको छ। नियमित तथा आकस्मिक रूपमा सञ्चालन गरिने मापसे परीक्षणका कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिमा निकै कमी आएको ट्राफिक प्रहरीको दाबी छ। यद्यपि पछिल्लो समय लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ, जसले थप चुनौती सिर्जना गरेको छ।
ट्राफिक प्रमुख केसीले भने,‘मापसे नियन्त्रणपछि अब लापसेतर्फ ध्यान केन्द्रित गरेका छौं। यसका लागि विशेष परीक्षण, सप्राइज चेकिङ तथा विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छौं।’ उनका अनुसार सार्वजनिक यातायातका चालक, निजी सवारी चालक तथा दुई पांग्रे सवारी चालकहरूमा लापसेको प्रयोग बढ्दो देखिएकाले यसलाई नियन्त्रण गर्न थप कडाइ आवश्यक भएको छ।
सीमावर्ती क्षेत्रमा विशेष अभियान अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनहरूलाई लक्षित गरी निगरानी बढाइएको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने गरिएको छ। अभियानकै क्रममा हेल्मेट बिना मोटरसाइकल चलाउने करिब दुई दर्जन चालकलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये अधिकांश भारतीय नम्बर प्लेटका मोटरसाइकल रहेका थिए। उनीहरूलाई ट्राफिक नियमबारे जानकारी गराउँदै जरिवाना तिराएर कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैबीच, बारा ट्राफिक प्रहरीले ई–रिक्सा सञ्चालनमा समेत कडाइ गरेको छ। ई–रिक्सा चालकहरूलाई अनिवार्य रूपमा चालक अनुमति पत्र (लाइसेन्स) लिन, सम्बन्धित नगरपालिकामा दर्ता गर्न तथा तोकिएको भित्री सडकखण्डमै मात्र सवारी सञ्चालन गर्न निर्देशन दिइएको छ। अनियमित रूपमा सञ्चालन हुने ई–रिक्साले पनि दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले यसको व्यवस्थापनमा ध्यान दिएको हो।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि ट्राफिक प्रहरीको अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन। सिम्रौनगढ नगरपालिका वडा नं. ९ का अध्यक्ष राम एकवालले सीमावर्ती क्षेत्रमा आएर ट्राफिक प्रहरीले गरेको कार्यको प्रसंशा गरे। उनले हेल्मेट प्रयोगकै कारण आफू हालै भएको दुर्घटनाबाट सुरक्षित रहन सफल भएको अनुभव सुनाउँदै हेल्मेटको महत्वबारे जनचेतना फैलाउन ट्राफिक प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए।
त्यस्तै स्थानीय बासिन्दाहरूले पनि ट्राफिक नियम पालना गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै ट्राफिक प्रहरीको सक्रियताले आफूहरूलाई सचेत बनाएको बताएका छज। ‘हामीले नियम पालना नगर्दा ट्राफिक प्रहरीले हामीलाई सम्झाउने र कानुन अनुसार कारबाही गर्ने गर्छ, जसले हामीलाई अनुशासित बनाउँछ,’ एक स्थानीय महिलाले बताइन।
सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले सडक सुरक्षा अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साह, सामुदायिक प्रहरी साझेदारीका प्रतिनिधि, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
बारा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी दुर्घटना न्यूनीकरण अभियानले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तर दीगो रूपमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको प्रयाससँगै नागरिकको सचेतना, जिम्मेवारीपूर्ण व्यवहार र सम्बन्धित निकायहरूको समन्वय अपरिहार्य छ।



