निजगढ,  बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

उम्मेदवार मैनालीले हिजो सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा क्षेत्रको समग्र विकासका योजना र समस्या समधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मैनालीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको सो पत्रमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्न र निर्माणाधिन काठमाडौं– निजगढ द्रुतमार्गको निर्माण कार्य निर्धारित समयमा नै पुरा गर्न पहल गर्ने, तामागढी– सिम्रौनगढ हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको बाँकी मुअब्जा वितरणमा थप पहल गर्ने, जग्गाधनीहरुले भोगचलन गर्दै आएका तर धनीपूर्जा नपाएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपूर्जा वितरण गर्न स्थानीय तह र भूमि समस्या समाधान आयोगमार्फत यथाशीघ्र पहल गर्ने जनाइएको छ ।

त्यसैगरी निजगढ, सिम्रौनगढ, कोल्हवीमा व्यवस्थित शहरीकरण र बारागढी तथा आदर्शकोतवाल गापामा शहरीकरणको पूवार्धार निर्माण गर्ने, मलाही–गन्जभवानीपुर–कलैया सडक, कोल्हबी– सिमरा, सपही– बारागढी– लङ्गडाचौक– खोपुवा– मुर्की– थस्कौल, सपही बजार– जुगुवा– ककडी, डम्बरपुर– अमलेखगंज, निजगढ– फापरबारी, कोल्हबी– कलैया सडक स्तरोन्नति र सिम्रौनगढ– श्रीनगर– बेनौली सडक, इनर्वा– देवापुरटेटा, झरोखर पोखरीबाट कचोर्वा हुदै उत्तर आदर्शकोतवाल गापाको डमार टोल हुदै सोनरनिया जोडने सडक निर्माण गर्ने, बारागढीको मुर्कीस्थित जमुनी नदीमा पक्की पुल निर्माण, सिम्रौनगढको ऐतिहासिक एंव पुरातात्विक सम्पदाहरुको संरक्षण र जीर्णोद्वार गरी यस क्षेत्रलाई मधेस प्रदेशको प्रमुख सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास, कचोर्वाको झरोखर र इशरा पोखरीको डिलमा रहेको जंगलको संरक्षण गर्ने र उक्त क्षेत्रमा इको पार्क निर्माण गर्न पालिकासंग समन्वय गर्ने जस्ता कार्यक्रम समावेश छन ।

त्यसैगरी मैनालीले जमुनी, तियर, अडुवा, थलही जस्ता नदीको मुल संरक्षण गरी पक्की सिँचाइ नहर निर्माण गर्ने र किसानलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्ने, माछा, केरा, तरकारी, दुध र अन्न बालीको उत्पादकत्व वृद्धि गर्न सिम्रांैनगढ, आदर्शकोतवाल, कोल्हबी र निजगढलाई तरकारी, माछा र केरा पकेट क्षेत्रको रुपमा विकास गर्ने, निजगढस्थित शहीद हिरालाल पार्क, मोहोरी, सुकेपोखरी र कोल्हबीको पातालगंगा तालको सौन्दर्यकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने, निजगढ, कोल्हबी र सिम्रौनगढमा २५ शैयाको अस्पताल निर्माणमा पहल गर्ने, बारागढी र आदर्शकोतवालको स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने, त्यसैगरी क्षेत्रका सबै पालिकाहरुमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण र थप विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन गर्न पहलसंगै थारु समुदायको संस्कृति र परम्पराको संरक्षणको लागि संग्रहालयको स्थापना गर्ने जस्ता विषयहरु पनि समेटिएका छन ।

चुरे क्षेत्र तथा वन जंगल र वन्यजन्तु संरक्षणको लागि कार्यक्रम संचालन गर्न पहल गर्ने, क्षेत्रको उत्तरी र दक्षिणी भेगका सार्वजनिक जमिनमा वृक्षारोपण गरी वन, उद्यान, पार्क र बगैचा निर्माण गर्न पहल गर्ने लगायतका कार्यक्रम समावेश छन ।

त्यसैगरी निर्वाचन क्षेत्रका सबै पालिकाहरुमा खेल मैदानको पूर्वाधार निर्माण गर्ने, शहिद हिरालाल गौतम रंगशाला निर्माण कार्य पुरा गर्ने, सिम्रौनगढ, निजगढ, आदर्शकोतवालमा क्रिकेट मैदान, कोल्हबीमा भलिबल कोर्ट र बारागढीमा फुटबल मैदान निर्माण गर्न स्थानीय सरकारमार्फत समन्वय गर्ने, भरपर्दो शान्ति सुरक्षा कायम गर्न सबै पालिकाहरुको सार्वजनिक स्थलहरुमा सिसी क्यामरा जडान गर्ने र हुलाकी सडकमा बढदो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको सक्रियता बढाउन पहल गर्ने प्रतिबद्धता पनि मैनालीले जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय