महोत्तरी। गर्मी असह्य भएर जनजीवन अस्तव्यस्त भएपछि बर्दिवास नगरपालिकाले स्थानीय बिद्यालयहरुमा दुई दिनका लागि गर्मी विदा दिइएको छ। बर्दिवास नगरपालिकाको कार्यालयले जारी गरिएको सूचना अनुसार नगरभरिका सञ्चालित सामुदायिक, निजी तथा धार्मिक बिद्यालयहरुमा बिहीबार र शुक्रबार गरी दुई दिनका लागि विदाको प्रबन्ध गरिएको छ।

अत्याधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि यहाँ सञ्चालित सम्पूर्ण विद्यालयहरुमा गर्मी विदा मिलाइएको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जनाएको छ। निरन्तर बढ्दो तापक्रम र लुका कारण विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको अधिकारीले बताए।

पछिल्ला केही दिनयता बर्दिबास आसपासका क्षेत्रका तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। जसले गर्दा अधिकांश विद्यालय भवनमा जस्तापाताको छाना भएकाले कक्षाकोठाभित्र अत्यधिक गर्मी हुने गरेको छ। दिन चर्किँदै जाँदा तातो हावाका कारण विद्यार्थीहरू उकुसमुकुस भई कक्षामै बेहोस हुने खतरा बढ्दै गएको शिक्षकहरूको भनाइ छ।

मंगलबार बर्दिबास-९ स्थित पशुपति नगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थी पालैपालो बेहोस भएर ढलेका थिए। विद्यालयमा त्रासको अवस्था सिर्जना भएको थियो। यसभन्दा अघि गौशालास्थित मावि कान्तिबजारमा पनि १० जना छात्राहरु गर्मीका कारण कक्षाकोठामै बेहोस भएका थिए। नगरपालिका कार्यालय स्रोतका अनुसार १४ वटा वडा रहेको बर्दिबास नगर क्षेत्रमा ५० सामुदायिक, २९ संस्थागत र ३ धार्मिक गरी कुल ८२ विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय