योजनाबद्ध विकास, प्रशासनिक दक्षता र नागरिकमैत्री सेवा प्रवाहको प्रभावकारी अभ्यासमार्फत बुढानीलकण्ठ नगरपालिकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ। नेपाल नगरपालिका संघले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा प्रदान गरेको उक्त सम्मानले नगरपालिकाको समग्र कार्यसम्पादनलाई राष्ट्रिय स्तरमा उदाहरणीय बनाएको हो। यस उपलब्धिमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको नेतृत्वदायी भूमिका उल्लेखनीय रूपमा अगाडि आएको छ, जसले प्रशासनिक संयन्त्रलाई चुस्त, पारदर्शी र नतिजामुखी बनाउँदै विकासका योजनाहरूलाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गरेका छन।

आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले हासिल गरेको प्रगति केवल भौतिक पूर्वाधारमा सीमित नभई समग्र प्रशासनिक सुधारसँग जोडिएको देखिन्छ। बर्तौलाको नेतृत्वमा कार्यालयभित्र कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई कडाइका साथ लागू गरिएको छ भने सेवा प्रवाहका प्रक्रियाहरूलाई डिजिटल माध्यममार्फत सरल र पहुँचयोग्य बनाइएको छ। नागरिक गुनासो व्यवस्थापनलाई संस्थागत रूपमा प्रभावकारी बनाउँदै सेवाग्राहीको समस्या छिटो समाधान गर्ने अभ्यास विकसित गरिएको छ र राजस्व संकलनदेखि खर्च व्यवस्थापनसम्म पारदर्शिता कायम गर्दै जनविश्वास मजबुत बनाइएको छ। यी सुधारहरूले प्रशासनिक कार्यशैलीलाई परम्परागत ढाँचाबाट आधुनिक र परिणाममुखी दिशातर्फ रूपान्तरण गरेको छ।

काठमाडौंमा आयोजित विशेष समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा देशभरका स्थानीय तहका प्रतिनिधि, सहरी विकासका विज्ञ तथा नीति निर्माताहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसले यस उपलब्धिलाई थप गरिमामय बनाएको थियो।

पुरस्कार ग्रहणपछि नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठले हासिल गरेको यो उपलब्धि दीर्घकालीन योजना, अनुशासित कार्यान्वयन र नागरिक सहभागिताको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय पूर्वाधार विकास र दिगो शहरी व्यवस्थापनमा केन्द्रित रहने बताएका छन। उनले नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता दोर्होयाएका छन।

त्यस्तै उप–प्रमुख अनिता लामाले यो सम्मानले नगरपालिकालाई अझ जिम्मेवार बनाएको बताउँदै सेवा प्रवाहलाई थप प्रभावकारी, समावेशी र नागरिकमैत्री बनाउनेतर्फ आफूहरू केन्द्रित रहने धारणा व्यक्त गरेकी छन। उनले महिला, बालबालिका तथा कमजोर वर्ग लक्षित कार्यक्रमहरूलाई अझ सुदृढ बनाउँदै विकासलाई सबैको पहुँचमा र्पुयाउने लक्ष्य लिइएको स्पष्ट पारेकी छन।

बुढानीलकण्ठ नगरपालिकाले ‘योजना अनुसारको विकास’ अवधारणालाई व्यवहारमा उतार्दै अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्ने, पूर्वाधार विकासलाई व्यवस्थित गर्ने र स्रोतको सदुपयोग सुनिश्चित गर्ने दिशामा काम गर्दै आएको छ। सडक स्तरोन्नति, खानेपानी तथा ढल व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण र हरियाली प्रवद्र्धनका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुमा प्रशासनिक नेतृत्वको सक्रियता देखिन्छ। यससँगै डिजिटल सेवाको विस्तार र सूचना प्रवाहमा पारदर्शिता कायम गर्दै नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने वातावरण निर्माण गरिएको छ।

पुरस्कार ग्रहणपछि प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले यो उपलब्धि सम्पूर्ण बुढानीलकण्ठवासी, जनप्रतिनिधि र कर्मचारीहरूको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित, दिगो र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन। वर्तमान समयमा स्थानीय तहबीच प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा बुढानीलकण्ठले प्रस्तुत गरेको प्रशासनिक दक्षता र विकास व्यवस्थापनको मोडेललाई अन्य नगरपालिकाहरूले समेत अनुकरणीय अभ्यासका रूपमा लिन थालेका छन। यसरी ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ ले बुढानीलकण्ठलाई सुशासन, नवप्रवर्तन र प्रभावकारी प्रशासनिक व्यवस्थापनको सफल उदाहरणका रूपमा स्थापित गरेको छ, जहाँ प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको नेतृत्व केन्द्रमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय