सिंगौल,     निजगढ नगरपालिकाका तीन वटा वडालाई जोड्ने मुख्य सडकको स्तरोन्नति हुन नसक्दा स्थानीय बासिन्दाले आवागमनमा समस्या बेहोर्नु परेको छ ।

निजगढको सिंगौलस्थित वडा नम्बर ३ र २ को सिमानामा रहेको भरतगंज स्वास्थ्य चौकीबाट वडा नम्बर १ मा अवस्थित माइन्ड लाइट बोर्डिङ स्कुल हुँदै वडा नम्बर १ जोड्ने सडक वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा अधिकांश स्थानीयले सास्ती खेप्नुपरेको हो ।

सिंगौल क्षेत्रकै सबैभन्दा पुरानो मानिने सो सडकको बीच भागमा जताततै ठूला ठूला खाल्डा र झाडीले आवातजावत गर्न स्थानीयलाई समस्या हुने गरेको छ ।

उक्त सडक क्षेत्रमा अधिकांश जग्गा निजी नम्बरी पर्ने र तीनै वटा वडा कार्यालयका जनप्रतिनिधिले सडक दायाँ–बायाँका जग्गाधनीसँग समन्वय गरेर काम गर्न नसक्दा हालसम्म पनि सडक व्यवस्थित रूपमा निर्माण हुन नसकेको हो । सडक साँघुरो भएकाले सिंगौलबाट सञ्चालन हुने बससमेत उक्त मार्गमा चल्न सकेको छैन र स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य हुदैआएका छन ।

स्थानीयका अनुसार राजनीतिक दृष्टिले हेर्दा मतदाता कम भएको क्षेत्र भएकै कारण सडक निर्माणमा प्राथमिकता नदिइएको हुनसक्ने आशंका गरिएको छ । सिंगौलका अधिकांश बस्तीका सडकमा स्ल्याब ढलान तथा कालोपत्रे निर्माण भइसकेको भए पनि वडा नम्बर १, २ र ३ लाई जोड्ने मुख्य सडक भने अझै स्तरोन्नति हुन सकेको छैन ।

सडक निर्माणका लागि आसपासका जग्गाधनीसँग समन्वय गरेर काम गर्न नसक्दा नगरपालिकाबाट आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटसमेत फ्रिज भएको थियो । आर्थिक वर्ष २०८२÷८३ का लागि पनि उक्त सडक निर्माणका लागि वडा नम्बर १ कार्यालयले बजेट विनियोजन गरेको वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनले जानकारी दिनुभयो ।

सिंगौलका स्थानीय दूधलाल स्याङतानले बस्ती क्षेत्रमा सडक कालोपत्रे भइरहँदा तीनै वटा वडालाई जोड्ने मुख्य सडकको स्तरोन्नति नहुनु दुःखद भएको बताउनुभयो । उहाँले पटक–पटक पहल गरिदिन आग्रह गर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय