निजगढ, निजगढ नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा निजगढ– ७ लच्कास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
सो विद्यालयबाट परीक्षामा सहभागी १६ जना विद्यार्थी मध्ये १४ जना अर्थात ८७.५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन । उनीहरुमध्ये चार जना ‘ए’ प्लस, ८ जनाले ‘ए’, २ जनाले बी प्लस ग्रेड ल्याउन सफल भएका छन ।
परीक्षामा निजगढ ९ को होलिएन्जल्स इङ्गिलिस बोडिङ्ग स्कुलले दोस्रो स्थान हासिल गरेको छ । सो विद्यालयबाट सहभागी ३१ मध्ये १७ जना अर्थात ५४.८४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन ।
गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावको निरन्तरको मेहनत र प्रयासबाट यो सफलता मिलेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले बताउनुभयो । सो विद्यालयले नगरस्तरीय परीक्षामा अघिल्ला तीन वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदैआएको छ ।
सो परीक्षामा सहभागी निजगढ नगरका १२ विद्यालयका ७६६ जना विद्यार्थी मध्ये ३४.६० प्रतिशतले मात्रै ग्रेड प्राप्त गरेका छन ।
त्यसैगरी कक्षा ५ को अन्तिम परीक्षामा भने निजगढ ९ को जनज्योति आधारभूत विद्यालय उत्कृष्ट बनेको छ । विद्यालयबाट सहभागी १३ जना मध्ये सतप्रतिशत विद्यार्थीहरुले ग्रेड प्राप्त गरेका हुन । निजगढ १ को शिक्षाशक्ति नमूना आवि उक्त परीक्षामा दोस्रो भएको छ । सो विद्यालयका ६६.६७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन ।
नगरका ३२ वटा विद्यालयबाट परीक्षामा सहभागी ९६८ मध्ये ३३८ जनाले ग्रेड प्राप्त गरेका छन ।
निजगढ नगरपालिकाले गत चैत्र २ गतेदेखि ८ गतेसम्म संचालन गरेको सो परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको हो ।



