बारास्थित पूर्वपश्चिम लोकमार्गमा ट्रक चालकको ज्यान लिने जंगली हात्तीलाई नियन्त्रण लिन पर्सा राष्ट्रिय निकुञ्जको टोलीले प्रयास विफल भएको छ । निकुञ्जसहित राष्ट्रिय प्रकृति कोष सौराहाबाट आएको टोलीले हात्तीलाई मंगलवार साँझ डार्ट गरेर नियन्त्रणमा लिन प्रयास गरेको भएपनि सफल हुन सकेन ।
मंगलबार साझ पूर्वपश्चिम लोकमार्ग अन्तरगर्त निजगढ पथलैया सडकखण्डमा रहेको भद्रकाली चोक पिलुवामा हात्ती देखा परेको थियो । राष्ट्रिय प्रकृति कोष सौराहाबाट आएको टोलीले हात्तीलाई नियन्त्रणमा लिन निकै परबाट डार्ट गनबाट एक सेल चलाएको थियो, प्रबिधिकले उक्त प्रयास सफल भएको बताए तर निकै टाडाबाट गरिएको प्रयास विफल हुन पुग्यो ।
त्यसपछि प्रबिधिक सहितको टोलिले भद्रकाली चोकको उत्तरतर्फ पर्सा राष्ट्रिय निकुञ्जबाट मगाइएको घरपालुवा हात्तीको मद्दतमा करिव दुई घण्टा जगंलमा खोजतलास गर्दा समेत फेला पर्न सकेन ।
टोलीले बुधबार समेत हात्तीको खोजी गरेको भएतापनि हाल सम्म नियन्त्रणमा लिन नसकेको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताए। उनका अनुसार कोल्हवीमा देखिएको हात्ती यमगज हो भने राजमार्गमा देखा परेको हात्ती फरक हो ।
हात्तीले सोमबार बिहान राजमार्गमा आएर ना.४ ख १८३० नम्बरको ट्रकका चालक जीतपुरसिमरा उपमहानगरपालिका– १ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको ज्यान लिएपछि तामागढीबाट दक्षिणतर्फको जंगलमा पसेको थियो ।
हात्ती नियन्त्रणमा लिन डार्ट टोली, पर्सा राष्ट्रिय निकुन्जको घरपालुवा हात्ती र प्राविधिकहरु सोमवार दिउसोदेखि नै निजगढ–पथलैया क्षेत्रको राजमार्ग परिचालन गरिएको छ ।
यसैबीच वन क्षेत्रमा हिसंक हात्तीको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बाराले वनको चारकिल्ला तोकेर सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको छ । कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजिव झाले सूचना निकालेर कार्तिक २५ गते मंगलवारदेखि २०८२ कार्तिक ३० गतेसम्मको लागि बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित सामुदायिक, साझेदारी वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको जानकारी गरएको छ ।



