बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजेन्द्र बहादुर अर्यालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सिन्धुपाल्चोक जिल्लास्थित जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला समन्वय अधिकृतका रूपमा सरुवा गरेको हो।

उपसचिव अर्याल २०८२ साल वैशाख ३ गते निजगढ नगरपालिकामा सरुवा भएर आएका थिए। उनले २०८२ वैशाख ८ गते सोमबार कार्यालयमा हाजिर भई नियमित कामकाज सुरु गरेका थिए । झण्डै सात महिनाको अवधिमा उनले नगरपालिकाभित्र प्रशासनिक सुधार, योजना कार्यान्वयनमा तीव्रता र आन्तरिक व्यवस्थापनमा ध्यान केन्द्रित गरेको स्थानीय कर्मचारीहरूले बताएका छन।

निजगढ नगरपालिका, बारा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकामध्ये एक हो, जसमा प्रशासनिक कार्यभार पनि चुनौतीपूर्ण मानिन्छ। अर्यालले आफ्नो कार्यकालमा नगरपालिकाको वार्षिक बजेट कार्यान्वयन, आन्तरिक राजस्व व्यवस्थापन र सेवाप्रवाहलाई चुस्त बनाउनेतर्फ योगदान र्पुयाएको बताइन्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्यालको स्थानमा उपसचिव सूर्य प्रसाद गौतमलाई निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउने निर्णय गरेको छ।

गौतम हाल मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन । उनले पाँचखाल नगरपालिका (काभ्रे) र हेटौडा उपमहानगरपालिका (मकवानपुर) लगायतका स्थानीय तहमा समेत प्रमुख प्रशासकीय अधिकृतका रूपमा अनुभव हासिल गरि सकेका छन।

प्रशासनिक क्षेत्रमा अनुभवी मानिने गौतमले नयाँ जिम्मेवारीसहित चाँडै निजगढ नगरपालिका आउने तयारी गरेको स्रोतले जानकारी दिएको छ। उनको आगमनपछि नगरपालिकाको नीति, योजना र विकास गतिविधिमा निरन्तरता र कार्यगत सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय