निजगढ नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले निजगढ नगरभित्र लाग्दै आएको हाटबजार संचालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकले हाटबजारसहित नगरपालिकाभित्रका सबै पसल, व्यवसाय, उद्योग÷प्रतिष्ठान, सेवा व्यवसाय र बैङ्क तथा वित्तिय संस्थाहरु पनि नियमित रुपमा संचालन गर्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले यसअघि जारी गरेको निषेधाज्ञा आदेश असोज १ गतेबाट हटाएपछि नगर कार्यपालिका बैठकले हाटबजार, पसल तथा व्यवसाय संचालन गर्ने निर्णय गरेको निजगढ नगरपालिका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।

‘नगरपालिका बैठकले हाटबजार तथा अन्य व्यवसाय एंव बैङ्क तथा वित्तिय संस्थाहरु पनि नियमित रुपमा संचालन गर्न सकिने छ, सुचना अधिकारी घिमिरेले भने, कोरोना भाइरस जोखिम कायमै रहेकोले आवश्यक सुरक्षा सर्तकता अपनाएर व्यवसाय संचालन गर्न दिने निर्णय भएको छ ।’ उनकाअनुसार विद्यालय तथा नगरभित्र संचालित सहकारी संस्थाको साधारण सभा तथा भेला कार्यक्रममा भने अहिले पनि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय गरेपछि स्थानीय व्यवसायीहरुले पसल तथा व्यवसाय पुर्णकालिनरुपमा संचालन गर्न पाउनुपर्ने भन्दै नगरपालिकामा माग गर्दै आएका थिए । यसअघि नगरभित्रका पसल व्यवसायलाई बिहान ८ बजेबाट साँझ ४ र होटल व्यवसाय भने ७ बजेसम्ममात्र संचालन गर्न दिने निर्णय भएको थियो ।

यसअघि मंगलबार बिहान कोराना भाइरस विपत, न्युनीकरण, व्यवस्थापन तथा अनुगमन समितिको बैठकले पसल, व्यवसाय तथा हाटबजार खोल्न दिने बारेमा निर्णय गर्न कार्यपालिकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

कार्यपालिकाको निर्णयसंगै नगरभित्रका पसल, व्यवसाय र हाटबजारसमेत पुर्णरुपमा संचालनमा आउने भएका छन । निजगढ नगरको वडा नम्बर– १ , वडा नम्बर– ८, वडा नम्बर– १० र वडा नम्बर– ११ मा हप्ताको दुई दिन हाटबजार लाग्ने गरेको छ । कोरोना महामारीका कारण बिगत ६ महिनादेखि हाटबजार भने पुर्णरुपमा बन्दै आएका थिए । नजिकिदै गरेको दशै, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरुको मागअनुसार हाटबजार खोल्ने निर्णय भएको नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय