निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा उम्मेदवारको कार्य अनुभव पत्र त्रुटिपूर्ण रहेको रहस्य खुलेको छ ।
निजगढ नगरपालिका ७ का कविर पौडेलले पेश गरेको कार्य अनुभव पत्र बढाएर बनाएको पाइएको छ । निजगढ ९ मा रहेको निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाबाट दुई वर्षको कार्य अनुभव पत्र बनाएको रहस्य खुलेको हो । उनले फिल्डमा रकम सङ्कलनको काम मात्र गरेको सहकारी संस्थाका जिम्मेवार एक सदस्यले बताउँदै बढीमा एक वर्ष मात्रै काम गरेको बताए ।
उनका आफन्तले दुई वर्षको कार्य अनुभव पत्र बनाउन निकै आग्रह गरेपछि आफूलाई र संस्थालाई कुनै समस्या आए त्यसको जिम्मेवारी स्वयम् उनीहरूले लिनुपर्ने भन्दै आफूले दुई वर्षको अनुभव कार्य पत्र दिएको संस्थाकी जिम्मेवार एक सदस्यले बताइन् ।
आफूलाई झुक्याएर जागीर खानका लागि कार्य अनुभव पत्र बनाउन आएको थाहा नपाएकोले कसैका निम्ति उद्धार वा सेवा दिंदा अहिले आफू र संस्थाको समेत बदनामी हुन थालेको उनले दुःखेसो पोखिन् ।
यता सो संस्थाकी अर्का जिम्मेवार सदस्यले भने आफू दुई कार्यकाल झन्डै चार वर्ष संस्थामा रहे पनि सो व्यक्तिले संस्थामा काम गरेको थाहा नभएको बताएका छन् । यसरी कार्य अनुभवको पत्र कसैलाई दिंदा संस्थाको बैठकमा समेत कुरा नउठेको र आफूलाई समेत थाहा नभएको उनले जानकारी दिए ।
जिल्ला प्रशासनको निर्देशनपछि यता सो प्रकरणमा निजगढ नगरपालिकामा छानबीन समिति गठन भएको छ । यसअघि सो छनोट समितिले सबै काम प्रक्रिया पूरा गरी सम्पन्न गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले दाबी गरे ।
यो घटनाको यथाशीघ्र छानबीन गर्नुपर्ने देखिए पनि निजगढ नगरपालिकाले छानबीनमा ढिलाइ गरिरहेको उजूरीकर्ताहरूको भनाइ छ । सो छनोटमा उत्र्तीण भएका पौडेलद्वारा पेश गरिएका सम्पूर्ण कागजातको छानबीनको माग गरे पनि गत भदौ ११ गते नियुक्ति दिई एक सातासम्म निजगढ नगरपालिकाले काममा खटाएको थियो र पछि मात्र निजको नियुक्तिपत्र निजगढ नगरपालिकाले फिर्ता लिएको हो।