बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ’ को दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै महत्वाकांक्षी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण संरक्षण, पर्यटन, युवा तथा रोजगार, डिजिटल सेवा विस्तार, सुशासन र आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ।
नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रमले नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने तथा विकासका लाभ सबै वर्ग र समुदायसम्म र्पुयाउने लक्ष्य लिएको छ। कार्यक्रमले स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारका रूपमा स्थापित गर्दै दिगो, समावेशी र परिणाममुखी विकासलाई प्राथमिकतामा राखेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए।
स्वास्थ्य सेवामा व्यापक सुधार
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बुढानीलकण्ठ नगर अस्पताललाई २४सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने जनमैत्री अस्पतालका रूपमा विकास गर्ने नीति लिएको छ। नगर अस्पतालमा साना शल्यक्रिया सेवा, दन्त उपचार सेवा, नवजात शिशु तथा बालरोग सेवा र विशेषज्ञ चिकित्सकसहितको बाह्य बिरामी सेवा विस्तार गरिनेछ।
गर्भवती महिलाका लागि निःशुल्क गर्भ परीक्षण, भिडियो एक्स–रे सेवा, न्यानो झोला वितरण तथा मातृ–शिशु सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ। त्यसैगरी नगरवासीका लागि नसर्ने रोग परीक्षण, क्यान्सर परीक्षण, रक्त सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
शिक्षामा गुणस्तर र रूपान्तरण
शिक्षा क्षेत्रलाई नगरको दीर्घकालीन विकासको आधार मान्दै सामुदायिक विद्यालयलाई पहिलो रोजाइको विद्यालय बनाउने नीति लिइएको छ। बालमैत्री विद्यालय घोषणा, शिक्षक क्षमता अभिवृद्धि तथा ‘आधारभूत शिक्षा मेरो प्राथमिकता’ अभियानलाई निरन्तरता दिइनेछ।
अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन, छात्रवृत्ति कार्यक्रम, विद्यार्थी वृत्ति मार्गदर्शन सेवा, पुस्तकालय विस्तार तथा ‘रमाइलो शुक्रबार’ कार्यक्रममार्फत सिकाइलाई व्यवहारिक र परिणाममुखी बनाइने भएको छ। मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था पनि गरिनेछ।
युवा, रोजगार र उद्यमशीलता विकास
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यका साथ विभिन्न सीपमूलक तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ। उद्यमशीलता विकास, स्वरोजगार प्रवद्र्धन, सीप विकास तालिम, रोजगार सूचना प्रणाली तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्न कृत्रिम बुद्धिमत्तामा आधारित नवप्रवर्तन कार्यक्रम, सूचना प्रविधि सम्मेलन, खेलकुद तथा सिर्जनशील गतिविधिहरू सञ्चालन गरिनेछन।
खेलकुद पूर्वाधारमा लगानी
प्रत्येक वडामा खेल पूर्वाधार निर्माण, खेल मैदान व्यवस्थापन, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता तथा नगरस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरी बुढानीलकण्ठलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
महिला, बालबालिका र सामाजिक समावेशीकरण
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा पछाडि पारिएका समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनेछन। महिला हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा, ज्येष्ठ नागरिक सेवा, बाल अधिकार संरक्षण तथा अपाङ्गतामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने भएको छ।
पर्यटन, संस्कृति र सम्पदा संरक्षण
बुढानीलकण्ठका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। बागद्वार, विष्णुद्वार, चण्डेश्वरीलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई जोडेर धार्मिक–सांस्कृतिक पर्यटन मार्ग निर्माण गरिनेछ।
नगरका विभिन्न स्थानमा खुला सङ्ग्रहालय, सांस्कृतिक उद्यान तथा खुला रंगशाला स्थापना गरिनेछ। साथै बुढानीलकण्ठका धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा भौतिक सम्पदालाई समेटेर ‘आहा बुढानीलकण्ठ’ नामक विशेष प्रकाशन तयार गरिनेछ।
पूर्वाधार विकासमा आधुनिक प्रविधिको प्रयोग
नगरभित्रका सडक, ढल, खानेपानी, भवन, उद्यान, सडक बत्ती, सीसीटीभी तथा सार्वजनिक सम्पत्तिको व्यवस्थापन भौगोलिक सूचना प्रणालीमा आधारित बनाइनेछ। नगरका योजनाहरूको अभिलेख, प्रगति तथा व्यवस्थापन डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ।
सार्वजनिक भवन, उद्यान तथा सडक क्षेत्रमा ऊर्जा बचत गर्ने आधुनिक सडक बत्ती तथा सीसीटीभी जडान विस्तार गरिनेछ। भवन नक्सा स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय भवन अनुमति प्रणालीमार्फत सञ्चालन गरी घरबाटै सेवा लिन सकिने व्यवस्था मिलाइनेछ।
पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई सहज हुने गरी पैदलमार्ग, र्याम्प, जेब्रा क्रसिङ, सुरक्षा रेलिङ तथा संकेत बोर्डसहितको पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।
खानेपानी, यातायात र वातावरण संरक्षण
खानेपानीको गुणस्तर र सुरक्षालाई सुनिश्चित गर्न पानी सुरक्षा योजना तथा जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता योजना लागू गरिनेछ।
यातायात व्यवस्थापन सुधार गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहन, विद्युतीय सवारी चार्जिङ केन्द्र स्थापना तथा सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाइने नीति लिइएको छ।
वातावरण संरक्षणतर्फ नगरलाई २०९० भित्र कार्बन तटस्थ शहर बनाउने लक्ष्य राखिएको छ। शून्य फोहोर शहरको अवधारणालाई कार्यान्वयन गर्दै फोहोरलाई ऊर्जामा रूपान्तरण गर्ने परियोजना सञ्चालन गरिनेछ। विद्युतीय फोहोर तथा हानिकारक फोहोर व्यवस्थापनका लागि छुट्टै प्रणाली विकास गरिनेछ।
विपद् व्यवस्थापनमा विशेष प्राथमिकता
विपद् जोखिम न्यूनीकरणका लागि विपद् जोखिम नक्साङ्कन, पूर्वसूचना प्रणाली, राहत तथा उद्धार व्यवस्थापनलाई सुदृढ बनाइनेछ। वन डढेलो नियन्त्रण, पहिरो जोखिम न्यूनीकरण तथा स्थानीय विपद् व्यवस्थापन स्वयंसेवकहरूको क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको छ।
राजस्व तथा आर्थिक प्रशासनमा सुधार
प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाको प्रशासनिक नेतृत्वमा नगरको आर्थिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाइने भएको छ। राजस्वको दायरा विस्तार, विद्युतीय राजस्व संकलन, करदातामैत्री सेवा तथा घरदैलो राजस्व अभियान सञ्चालन गरिनेछ।
आर्थिक प्रशासनका सम्पूर्ण गतिविधिलाई विद्युतीय सूचना प्रणालीमा आबद्ध गर्दै वित्तीय अनुशासन, मितव्ययिता तथा पारदर्शिता अभिवृद्धि गरिने नीति लिइएको छ।
डिजिटल सुशासनतर्फ अग्रसर नगरपालिका
नगरपालिकाले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ। नगरका अभिलेखहरूको डिजिटलीकरण, डिजिटल शहरी सुरक्षा प्रणाली, तथ्याङ्क सुरक्षा तथा गोपनीयता नीति, डिजिटल नागरिक बडापत्र तथा एकीकृत मोबाइल अनुप्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ।
कृत्रिम बुद्धिमत्तामा आधारित सेवा प्रणाली, उच्च गतिको इन्टरनेट तथा आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत नगरवासीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
समृद्ध बुढानीलकण्ठ निर्माणको स्पष्ट मार्गचित्र
समग्रमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, वातावरण संरक्षण, सामाजिक समावेशीकरण, डिजिटल सुशासन तथा आर्थिक सुधारलाई एकीकृत रूपमा अघि बढाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीको विकासमुखी दृष्टिकोण, उपप्रमुख अनिता लामाको समावेशी विकासप्रतिको प्रतिबद्धता तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाको प्रशासनिक सुधार र डिजिटल रूपान्तरणको योजनाले आगामी वर्ष बुढानीलकण्ठलाई थप व्यवस्थित, समृद्ध, आधुनिक र नागरिकमैत्री नगरका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।




