निजगढ, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा निजगढ– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा प्रश्ना लामाले ३.९१ जिपिएसहित निजगढ नगरमा उत्कृष्ट स्थान हासिल गर्नुभएको छ ।
निजगढ ७ निवासी रमेश लामाकी छोरी प्रश्नाले सोमबार सार्वजनिक भएको एसईईमा ३.९१ जीपीए सहित निजगढ नगरमै सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रा हुनुभएको हो ।
यस वर्ष विद्यालयबाट परिक्षामा सहभागी बनेका १७६ विद्यार्थी मध्ये ७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयका प्रधानाध्यापक बन्द्रिनारायण झाका अनुसार विद्यालयबाट सहभागी विद्यार्थीमध्ये १३ जनाले ३.६ देखि ४ जीपीए (एभरेज) प्राप्त गरेका छन् । त्यस्तै २० जनाले ३.२ देखि ३.६, ३० जनाले २.८ देखि ३.२ तथा ८ जनाले २.४ देखि २.८ जीपीए हासिल गरेका छन् ।
त्यसैगरी सोही विद्यालयका जेसन रखालले ३.८६ तथा सम्पन्न तिमल्सिनाले ३.८५ जीपीए प्राप्त गरेका छन् ।
त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माविका ७३ मध्ये २५ जना ग्रेडेड भएका छन ।
त्यस्तै निजगढ ८ स्थित बकैया ठाकुर माविका ३६ मध्ये ३२ जनाले ग्रेड प्रप्त गरेका छन । निजगढ ६ को गौरीशंकर मावि सडकटोलबाट ७९ मध्ये २० जना मात्रै ग्रेडेड भएका छन ।
त्यसैगरी निजगढ ७ को नेत्रोदय माविबाट २० मा १३, निजगढ १ को नेरामावि सिंगौलबाट ३२ मध्ये ८, निजगढ १० को नेरामावि लालका २६ मध्ये ८ र नेरामावि रतपुरबाट परीक्षामा सहभागी ६३ मध्ये ८ जनाले ग्रेड प्राप्त गरेका छन ।
यसैबीच बारा जिल्लामा भने यो वर्ष परीक्षामा सहभागीमध्ये ४६ प्रतिशतले मात्र ग्रेड प्राप्त गरेका छन् ।
जिल्लाको समग्र ग्रेड विभाजनमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३०६ रहेको छ । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५४ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ३५ रहेको छ ।



