निजगढ,
अत्यधिक चिसोलाई मध्यनजर गर्दै बाराका पालिकाहरुले थप तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन ।
दुई सातादेखि शुरु भएको शितलहर र ठण्डी नघटेपछि जिल्लाको निजगढ नगरपालिका र कलैया उपमहानगरपालिकाले जाडो बिदा लम्बाएका हुन ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले आज सूचना जारी गर्दै विगत केही दिनदेखि बढ्दै गएको अत्याधिक चिसोको कारण विद्यालयहरूमा नियमित पठनपाठन कार्यमा असहज भएको र बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने अतिकूल असरलाई मध्यनजर गरेर नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बुधवारदेखि शुक्रवारसम्म थप बिदा गर्नुगराउनु हुन अनुरोध गर्नुभएको छ ।
सूचनामा विद्यालयहरूले वार्षिक विद्यालय खोल्नुपर्ने दिन नपुग्ने नदेखिएमा अन्य विदामा विद्यालय खुल्ने व्यवस्था गर्नुहुनसमेत जानकारी गराइएको छ ।
जाडो शुरु भएपछि निजगढका विद्यालयहरुमा यसअघि २ पटक गत पुष ९ देखि १४ गतेसम्मको लागि बिदा दिइएको थियो ।
त्यसैगरी कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठन–पाठन बन्द गरिएको हो ।
उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने पनि सूचनामा उल्लेख गरिएको छ ।



