गोकुल घोरसाइने
निजगढ,    पूर्वमन्त्री एंव नेकपा एमालेका प्रभावशाली नेता पुरुषोत्तम पौडेल आज दिनभरि नै बारा बारा १ का एमाले उम्मेदवार अच्युत मैलालीको चुनाव प्रचारको लागि निजगढमा घरदैलो गर्नुभएको छ ।

नेता पौडेलले निजगढ नगरपालिकाको वडा नम्बर ५ र ६ का विभिन्न टोलमा पुगेर एमाले उम्मेदवार मैनालीको पक्षमा मत माग्दै घरदैलो गरेपछि स्थानीय नेता कार्यकर्ता र मतदाता पनि उत्साही देखिएका छन ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारको आकांक्षी समेत रहनुभएका पौडेल विपक्षीहरुको अनुमान विपरित चुनाव प्रचारमा सक्रिय बन्नुभएको हो । पार्टीले टिकट नदिएपछि पौडेल असन्तुष्ट बन्ने र त्यसबाट आफूहरुलाई फाइदा हुने विपक्षी दलका उम्मेदवारहरुले आकलन गरेका थिए ।

‘एमालेको पक्षमा भोट माग्दै पौडेलले यसरी घरदैलो आउनुहुन्छ होला भनेर कतिपय विपक्षी उम्मेदवारहरुले सोचेका पनि थिएनन्, एमाले निजगढ नगर कमिटीका सचिव थानेश्वर सापकोटाले भन्नुभयो, तर पौडेलको सक्रियताले एमाले विरोधीहरुलाई निराश र हतोत्तसाही तुल्याएको छ ।’

मनोनयन पत्र दर्ता गर्ने दिनदेखि पार्टीका प्राय सबै कार्यक्रममा पौडेल उम्मेदवार मैनालीसंगै हुनुहुन्छ । मैनाली निजगढ क्षेत्रको घरदैलोमा व्यस्त रहँदा हिजो पौडेल सिम्रौनगढ नगरपालिकामा चुनाव प्रचार सम्पर्क कार्यालय उद्धाटन गर्न पुग्नुभएको थियो । यसअघि पनि निजगढ र कोल्हबी नगरपालिका तथा आदर्शकोतवाल र बारागढी गाउँपालिकामा भएका कार्यकर्ता भेला, सभा र कार्यकर्ता भेटघाटमा पनि पौडेल सरिक हुनुभएको थियो । दुबै नेताहरुले आलोपालो मिलाएर चुनाव प्रचार अभियान संचालन गर्दैआएका छन ।

संविधानसभा सदस्य पौडेल यस पटक बारा १ बाट टिकटको आकांक्षी हुनुहुन्थ्यो । । एमाले क्षेत्रीय कमिटीले नाम सिफारिस गरेपनि पार्टीले मैनालीलाई उम्मेदवार बनाएको हो । जिल्लाको पार्टीभित्रको आन्तरिक राजनीतिमा विगत लामो समयसम्म पौडेल र मैनालीले एकअर्काको सहयोगीको रुपमा काम गरेका थिए । ०४८ सालपछि पौडेललाई जिल्ला कमिटी सचिव बनाउन मैनालीले सहयोग गर्नुभएको थियो भने त्यसपछि पौडेलकै सहयोगमा मैनाली पनि पार्टीको जिल्ला सचिव बन्नुभएको थियो ।

त्यसैगरी विद्यार्थी आन्दोलनको क्रममा ०३७ सालमा दुबै जना संगै जेल पर्नुभएको थियो । तर पछिल्लो समय पार्टीको आन्तरिक विवादमा भने पौडेल र मैनालीको धार फरक छ । पौडेल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आलोचकको रुपमा चिनिदै आउनुभएको छ र मैनाली भने अध्यक्ष ओलीको समर्थक हुनुहुन्छ ।
उम्मेदवार मैनालीले पार्टीको आन्तरिक विषयमा फरक फरक बुझाइ भएपनि पार्टी निर्माणको विषयमा आफूहरु संगै रहेको बताउनुभयो । ‘पार्टीभित्रको आन्तरिक मतान्तरले पार्टी हित र निर्वाचनमा असर पार्दैन, मैनालीले भन्नुभयो, हामी हिजो पनि एक थियौं, आज पनि एकै छौं र भोलि पनि हुने छौं ।’

जिल्लामा कार्यकर्ताबीच निकै लोकप्रिय नेता मानिने पौडेल क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार किसान श्रेष्ठ र ३ मा ज्वाला साह र २ का उम्मेदवार बलवीर चौधरीको चुनाव प्रचारमा पनि सक्रिय रहदैआउनुभएको छ । जिल्लामा भूमिगतकालदेखि नै पार्टी संगठनको काममा सक्रिय रहदै आउनुभएका पौडेलको जिल्लाको सबै क्षेत्रमा कार्यकर्ता र मतदातामा पनि राम्रो प्रभाव रहेको मानिन्छ ।

नेता पौडेलले भने पार्टीले कुनै जिम्मेवारी तोकेर नदिएको र उम्मेदवारहरुको व्यक्तिगत आग्रहमा मात्र आफू चुनाव प्रचारमा खटिएको बताउनुभयो । ‘जिम्मेवारी तोकेर दिइएको छैन, उहाँले भन्नुभयो, तर उम्मेदवार साथीहरुले खबर गरेर बोलाएको ठाउँमा पुगेर सकेको सहयोग गर्दैआएको छु ।’

०५१ सालमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी पौडेल ०७० को संविधान सभामा जिल्लाकै क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएको थियो । दुई वर्षअघि भएको क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पनि पौडेल एमालेको तर्फबाट उम्मेदवार बनेर पराजित बन्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय