रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा मिनि ट्रक रोकी चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बाराबाट रौतहटतर्फ जादै गरेको मिनि ट्रकलाई मध्य जगलमा रहेको लम्हा पुल नजिक लुटपाटपछि फरार रहेका अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार घटना गत असार २८ गते बिहान करिब २:३० बजे घटेको हो ।

बारा निजगढ नगरपालिका– ५ का किरण नेपालद्वारा चलाइएको ना. ०८ ख. १०१३ नम्बरको मिनि ट्रक बाराको निजगढतर्फबाट रौतहटतर्फ आउदै गर्दा एक समूहले ढुंगा प्रहार गरी ट्रक रोकेको थियो । ‘मोटरसाइकलमा आएका करिब ६–७ जनाको समूहले ट्रकमाथि ढुंगा प्रहार गरी चालकलाई त्रास देखाई नगद लुटपाट गरेका थिए,’ प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रायले भने,‘उनीहरू घटनापछि फरार भए पनि प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडिएको अवस्थामा फेला परेको थियो ।’

घटनास्थलमा फेला परेको बा. ७४ प. १४९० नम्बरको पल्सर मोटरसाइकल बारा निजगढ नगरपालिका– ४ बस्ने २५ वर्षीय अमर अधिकारीको भएको खुलेपछि अनुसन्धानले तीव्रता पाएको थियो । प्रहरीका अनुसार अमर अधिकारीसहितको समूहले ट्रकमा आक्रमण गरी लुटपाट गरेको पुष्टि भएको छ ।

लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडि फरार रहेका उनीहरुको बारेमा प्रहरी अनुसन्धान गर्दा सो मोटरसाइकल बाराको निजगढ नगरपालिका ०४ बस्ने २५ वर्षीय अमर अधिकारीको रहेको र उनी लगाएतका समुहले लुटपाट गरी घटनास्थलमा मोटरसाईकल छाडी फरार रहेको खुल्न आएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए ।

यस्तै प्रहरीले बारा निजगढ नगरपालिका– ४ पुरानो टोल बस्ने लोक बहादुर सापकोटाको छोरा ३२ वर्षीय अरूण सापकोटा, सोही स्थान बस्ने मोहन बहादुर अधिकारीको छोरा २४ वर्षीय अमर वहादुर अधिकारी र मान बहादुर कुश्वारको छोरा २८ वर्षीय कृष्ण कुश्वारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबैजना बारा जिल्लाको निजगढ नगरपालिका– ४ पुरानो टोलका स्थायी बासिन्दा हुन । उनीहरूलाई सोही दिन साँझ करिब ५ बजे गाउँ टोलमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रायका अनुसार,‘अन्य फरार व्यक्तिहरुको पहिचान खुलाउने र पक्राउ गर्ने काममा प्रहरी सक्रिय छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो घटना पूर्वनियोजित र योजनाबद्ध रहेको देखिएको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय