
निजगढ,
यात्रु चढाउने लोभमा पूर्वपश्चिम राजमार्गमा लापरवाही गरी दुर्घटना जोखिम बढाएको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले २ वटा सवारी साधनका चालकलाई बिहीवार बिहान नगद जरिवाना गरेको छ ।
प्रहरीले वीरगञ्जबाट जनकपुरतर्फ जादै गरेको दाइभाइ ट्राफल्सको म प्र ०३–००२ख ००२७ नम्बरको यात्रु बसका चालक मिनकुमार नेवार र सोही स्थानबाट पूर्वतर्फ नै जादै गरेको म प्र ०३–००१ ज ०४७९ नम्बरको विद्युतीय भ्यानका चालक दिनेश प्रसादलाई ५÷५ हजार रुपैया जरिवाना तिराएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार राजमार्गस्थित निजगढको शहिद चोक बस बिसौनीमा यात्रु चढाउने क्रममा रोकिराखेको इभीलाई बसका चालक मिनकुमारले जानिबुझी ठक्कर दिएपछि इभीका चालक दिनेशले पनि रङ्ग साइडबाट ओभरटेक गर्दै अगाडि गएर राजमार्गमा नै बसलाई अवरोध गरेका थिए । यात्रु चढाएको रिसमा बसका चालकले ठक्कर दिएपछि इभी गाडीको अगाडितर्फको लुकिङ्ग ग्लास फुटेको थियो ।
यसैक्रममा इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्याएको र जरिवाना तिराएको हो ।
बसका चालकले लापरबाहीका साथ तीव्र गतिमा सवारी चलाएर इभीको लुकिङ्ग ग्लास फुटाएको र इभीले पनि नियम विपरित गलत दिशाबाट ओभरटेक गरेर राजमार्गमा गुडिरहेको बसलाई अवरोध गरेको र दुर्घटना जोखिम उत्पन्न गराएको पाइएपछि दुबै सवारी साधनका चालकहरुमाथि कारबाही स्वरुप ट्राफिक प्रहरी कार्यालय निजगढमार्फत नगद जरिवाना तिराइएको निरीक्षक लामिटानेले जानकारी दिनुभयो ।
दुबै सवारी साधनको कागजपत्र र चालकको लाइसेन्स पनि नियन्त्रणमा राखेको जनाएको छ ।