गोकुल घोरसाइने
निजगढ, निजगढ नगरपालिका ९ को बुद्धचोकस्थित गुरुङ्ग होटलमा शंकास्पद अवस्थामा मृत फेला परेकी सीता थिङ्ग हत्या अभियोगमा पक्राउ परेका व्यक्तिहरुको पोलिग्राम टेष्ट हुने भएको छ ।
घटनाको अनुसन्धान गरिरहेको निजगढ प्रहरीले पक्राउ परेका मृतक १९ वर्षिय सीताका पुरुष साथी महेश माझी, महेशका अर्का साथी सुनिल बम्जान र अनु विकले दिएको बयानको सत्यता पत्ता लगाउन पोलिग्राम टेष्ट गर्न लागेको हो ।
पोलिग्राम टेष्टको लागि अभियुक्तहरुलाई मंगलवार नै प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । पोलिग्राम टेष्टको परिणाम विश्लेषणपछि घटनाबारे उनीहरुले दिएको बयानको सत्यता पत्ता लगाउन मद्दत पुग्ने निरीक्षक लामिछानेको भनाई छ ।
घटनाका मुख्य अभियुक्त मानिएका महेशले सीताले होटलको बाथरुमको सावरको डण्डीमा झुण्डिएर आत्माहत्या गरेको बताउदैआएका छन ।
पोलिग्राम टेस्ट कुनै व्यक्तिले बोल्दा शरीरमा देखिने प्रतिक्रियाहरू मापन गरेर उसले सत्य वा झुट बोलिरहेको छ भन्ने अनुमान गर्न प्रयोग गरिने प्रविधि हो । परीक्षणका क्रममा व्यक्तिको शरीरमा विभिन्न सेन्सर जडान गरिन्छ । ती उपकरणले मुटुको धड्कन, रक्तचाप, सास फेर्ने गति, पसिना आउने मात्रा वा छालाको विद्युत प्रतिक्रियाको मापन गर्छ ।
‘जब व्यक्तिले बोल्न थाल्छ, उपकरणले उसको शारीरिक प्रतिक्रियाहरू रेकर्ड सुरु गर्छ, निरीक्षक लामिछानेले भन्नुभयो, मानिसले झुट बोल्दा मानसिक तनाव, डर, अपराधबोध वा चिन्ता बढ्न सक्छ, जसबाट मुटुको धड्कन अचानक बढ्ने, पसिना बढी आउने, सास फेर्ने लय बदलिने र रक्तचाप बढ्ने जस्ता प्रतिक्रियाहरु देखपर्छन ।’
निरीक्षक लामिछानेले पोलिग्रामले कुनै व्यक्तिले झुट बोलेको कुरा प्रत्यक्ष प्रमाणित नगर्ने तर बोल्ने क्रममा व्यक्तिको शरीरको प्रतिक्रिया असामान्य देखियो भने त्यसको मात्रै संकेत दिने बताउनुभयो । विशेषज्ञले यही प्रतिक्रियाको तुलना गरेर निष्कर्ष निकाल्ने प्रयास गर्ने निरीक्षक लामिछानेको भनाई छ ।
धेरै देशका अदालतहरूले यसलाई अन्तिम प्रमाण मान्दैनन् । तर पोलिग्रामलाई अनुसन्धानमा सहयोगी उपकरणको रुपमा भने लिने गरिएको छ ।
गत शुक्रवार साँझ होटलमा पुगेकी निजगढ १२ कुलिया गाउँकी सीताको शव राति ११ बजे होटलमा फेला परेको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही दिन टाँगियाबस्तिका वर्ष ३५ का महेश, सोही ठाउँका वर्ष ३६ का बम्जन र निजगढकी एक किशोरीलाई नियन्त्रणमा लिएको छ । सीताको घाँटी र पिडौलामा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको प्रहरीले बताउदैआएको छ ।



