निजगढ, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयको परीक्षाफलमा सुधार देखिएको छ ।
निजगढ नगरपालिका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले दिएको जानकारी अनुसार यस वर्षको एसईईमा निजगढका दुई सय ४२ जना अर्थात ४०.०७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन । उहाँका अनुसार गत वर्षको एसईईमा ३४.४१ प्रतिशत मात्र विद्यार्थी उर्तिणमा भएका थिए । शाखा प्रमुख लामिछानेका अनुसार यो वर्ष ग्रेड प्राप्त गर्नेको संख्या पनि वृद्धि भएको छ । गत वर्षको नतिजामा ३.६ भन्दामाथि ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २४ मात्र रहेकोमा यस वर्ष वर्ष ३२ जनाले ३.६ भन्दामाथिको ग्रेड प्राप्त गरेका छन् ।
नगरमा उत्कृष्ट स्थान हासिल गर्ने निजगढ– ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा प्रश्ना लामाले ३.९१ जीपीए हासिल गर्नुभएको छ ।
यस वर्षको परीक्षामा निजगढ ८ स्थित श्री बकैया ठाकुर माध्यमिक विद्यालय नगरपालिकमा उत्कृष्ट भएको छ । सो विद्यालयले ८८.८९ ग्रेडेड प्रतिशत नतिजा ल्याएको छ ।
विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेका अनुसार विद्यालयबाट सहभागी ३६ मध्ये ३२ जना विद्यार्थी ग्रेडेड भएका छन । जसमध्ये ३ जना विद्यार्थीले उच्च श्रेणी अर्थात ३.६–४ जिपिए प्राप्त गरेका छन् भने ४ जना विद्यार्थी ३.२–३.६ जिपिए समूहमा रहेका छन् । त्यस्तै २.८–३.२ मा ११ जना र २.४–२.८ समूहमा १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
सो विद्यालयबाट ४ जना विद्यार्थी ग्रेडेड हुन सकेनन । प्रधानाध्यापक घिमिरेले यस वर्षको नतिजा सन्तोषजनक रहेको बताउनुभएको छ । आगामी दिनमा अझ राम्रो परीक्षाफल हासिल गर्न विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्यलाई थप सुदृढ पारिने उहाँको भनाई छ ।
त्यसैगरी निजगढ– ९ स्थित होलिएन्जेस सेकेन्डरी बोडिङ्ग स्कुल धेरै विद्यार्थी उतिर्ण गराउने विद्यालयमा दोस्रो भएको छ । ७८.५७ प्रतिशत नतिजा हात पार्दै सो विद्यालय नगरमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
निजगढ– ७ स्थित विद्यासागर सेकेन्डरी बोडिङ्ग स्कुल भने तेस्रो भएको छ । उसले विद्यासागरले ५९.३२ प्रतिशत नतिजा ल्याएको छ ।
त्यसैगरी निजगढ– ७ योजनास्थित नेत्रोदय माध्यमिक विद्यालयले ४८.१५ प्रतिशत, निजगढ– ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयले ४०.११ प्रतिशत नतिजा ल्याएको छ भने निजगढ– ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयले ३४.२५ प्रतिशत नतिजा पाएको छ ।
त्यस्तै निजगढ– १० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ३०.७७ प्रतिशत नतिजा ल्याउँदा निजगढ– ६ सडकटोलको श्री गौरीशंकर माध्यमिक विद्यालयले भने २५.३२, निजगढ– १ सिंगौलस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले २२.२२ र निजगढ– ११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले १२.६० प्रतिशत नतिजा ल्याएको छ ।

ग्रेड प्राप्त गर्न नसक्ने नगरका अधिकांश विद्यार्थीहरु गणित र विज्ञान विषयमा असफल बनेको पाइएको छ ।
यस वर्षको एसईईमा निजगढका सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयबाट ६ सय ४ जना विद्यार्थी सहभागी थिए ।



