निजगढ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एंव नेपाली कम्युनिष्ट पार्टीको खेलकुद विभागका केन्द्रीय सदस्य युवराज लामाले पार्टीबाट राजिनामा
लामाले पार्टीमा केही समयअघि नै बुझाएको राजिनामा हालै सामाजिक सञ्जल फेसबुकबाट सर्वजनिक गर्नुभएको हो । नेपाल चलचित्र विकास बोर्डको पूर्वसदस्यसमेत रहनुभएका लामा हाल सितेरियो कराते महासंघको अध्यक्ष पनि हुनुहुन्छ ।
‘२ महिनाअघि नै पार्टी अध्यक्षलाई शंवोधन गरेर राजिनामा दिएको थिएँ, लामाले भन्नुभयो, तर नेताहरुको अनुरोधका कारण त्यतिबेला सार्वजनिक नगरेको राजिनामा अहिले बाहिर ल्याएको हुँ ।’
लामाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संबोधन गरेर बुझाएको राजिनामापत्रमा आफू अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने जनाउनु भएको छ । पत्रमा लामाले दुई महाधिवेशनमा आफूभन्दा कनिष्ठहरूलाई केन्द्रीय सदस्य बनाइएको र एकताका नाममा बाहिरबाट आउनेहरूलाई सिधै पदाधिकारी र पोलिटब्युरोमा समेटिएको र आफूलाई सधैँ भूमिकाविहीन अवस्थामा राखिएकोमा भन्दै असन्तुष्टि पोख्नुभएको छ ।
उहाँले पार्टीमा लामो समय भूमिका विहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको पनि उहाँको ठहर छ । उहाँले पार्टी छोड्नुको मुख्य कारणमा पार्टीभित्र व्याप्त किचन क्याबिनेट, गुटबन्दी र नेताका घर धाउने प्रवृत्तिलाई औंल्याउनुभएको छ ।
‘आफू कुनै पनि गुटमा सहभागी नभएको र नेताहरूको घर–घर पुगेर चाकरी गर्ने शैलीमा नलागेका कारण ओझेलमा परिएको छ ।’ उहाँको भनाई छ ।
लामाले राजीनामा पत्रमा आफूले १८ वर्षसम्म पार्टीको हिस्सा भएर काम गरेकोमा गर्व गर्दै प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्म निरपेक्षताका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको पनि उल्लेख गर्नुभएको छ ।
लामाले आगामी दिनमा एक स्वतन्त्र मतदाताको हैसियतमा मात्र रहने पनि स्पष्ट पार्नुभएको छ ।



