निजगढ, होटल तथा पर्यटन व्यवसायी संघ निजगढ नगर इकाइको अध्यक्षमा राजकुमार श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । श्रेष्ठ निजगढ ९ को शहीद चोकस्थित होटल राजमार्गको संचालक हुनुहुन्छ ।
निजगढमा आज भएको तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा ढकबहादुर खत्री (डिबी दहाल) र सिता पोखरेललाई चयन गरेको छ । त्यस्तै महासचिवमा भरत खड्का, कोषाध्यक्षमा सर्जु थापा र सचिवमा सुभम खनाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा ओमराज लामा, निरञ्जन बोहरा, कृष्ण बस्नेत, जुना पौडेल, रिना गौतम, विनोद घिसिङ र सुसिला सिम्खडा रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सरोज कोइरालाले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
यसअघि निजगढ नगर ईकाइ निवर्तमान अध्यक्ष रामकृष्ण घिमिरेलाई दोसल्ला ओढाएर विदाई गरिएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको एकता, सेवा गुणस्तर सुधार र पर्यटन विकासका लागि आफूले सक्रिय भूमिका निर्वाहा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै नवनिर्वाचित उपाध्यक्ष दाहालले होटल तथा पर्यटन क्षेत्रमा अनेकौ चुनौति रहेको बताउदै त्यसलाई निराकरण गर्न कार्यसमिति बढी जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृपा दैनिकका सम्पादक तथा रेडियो निजगढ १०७.२ मेगाहर्जका प्रबन्धक गोकुल घोरसाइनेले पर्यटन क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्न नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिनुभएको छ । उहाँले पर्यटन विकास हुदाँ सबैभन्दा बढी फाइदा होटल व्यवसायीहरुले नै पाउने भएपनि त्यसले समग्र क्षेत्रमा प्रभाव पर्ने बताउनुभएको थियो ।
त्यस्तै वरिष्ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दहालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।
निर्वाचन समितिका संयोजक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य महेश्वर अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन समितिकी सदस्य सिता श्रेष्ठ, पत्रकार जीतलाल श्रेष्ठ लगायत सहभागी थिए । अधिवेशनमा बोल्ने वक्ताहरूले निजगढ क्षेत्रको पर्यटन प्रवद्र्धन, होटल व्यवसायको सुदृढीकरण तथा व्यवसायीहरूको हकहित संरक्षणमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।



