निजगढमा दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमै रोमाञ्चक प्रतिस्पर्धा देखिँदा वडा नं. १३ को टोली विजयी बनेको छ।

निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा सम्पन्न उद्घाटन खेलमा वडा नं. १३ का जर्सी नं. १५ का प्रितम लामाले पहिलो हाफको १३औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दोस्रो हाफको ८औं मिनेटमा वडा नं. ५ का जर्सी नं. ७ का सुजल वलले बराबरी गोल फर्काएपछि निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिए।

निर्णयका लागि पेनाल्टी सुटआउटमा धकेलिएको खेल सडनडेथसम्म पुगेको थियो। सडनडेथमा वडा नं. १३ ले ४–३ गोल अन्तरले वडा नं. ५ लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्यो।

उत्कृष्ट प्रदर्शनका लागि वडा नं. १३ का जर्सी नं. १५ का प्रतिम लामा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरिन्।

कार्यक्रमका प्रमुख अतिथि एवं निजगढ नगरप्रमुख सुरथ पुरीले प्रतियोगिताको उद्घाटन गर्दै पुरस्कार राशि सानो भए पनि यसले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्व. विकल रेग्मीले राष्ट्रका लागि खेल्ने सपना बोकेका भए पनि असामयिक निधनका कारण अधुरो रहेको उल्लेख गर्दै यस प्रतियोगिताबाट उत्पादन हुने खेलाडीहरूले त्यो सपना पूरा गर्ने अपेक्षा व्यक्त गरे।

विकल रेग्मी अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित एन्फा एकेडेमीमा प्रशिक्षणरत रहँदा गत २०८१ असोजको पहिलो सातापछि देशभर परेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरीस्थित पहिरोमा परी उनीसहित ६ जना खेलाडीको दुःखद निधन भएको थियो। उक्त घटनाले निजगढ मात्र नभई सिंगो देशलाई मर्माहत बनाएको नगरप्रमुख पुरीले बताए। उनले खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राख्दै प्रतिस्पर्धा गर्न आग्रह समेत गरे।

कार्यक्रममा स्व. विकल रेग्मी र निजगढ फुटबल क्लबका अध्यक्ष स्व. शम्भु थापामगरको तस्बिरमा माल्यार्पण गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, शिक्षा अधिकृत उत्तम लामिछाने, विभिन्न वडाअध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन सुरक्षा बेस निजगढका प्रमुख सन्दीप अर्याल, राष्ट्रिय खेलाडी समिर तामाङका पिता बुद्ध तामाङ लगायतको उपस्थिति रहेको थियो।

निजगढ फुटबल क्लबका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव नारायण लामाले गरेका थिए। प्रतियोगिता निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा सञ्चालन भइरहेको छ।

मुख्य रेफ्री नीलकमल चौधरी, सहायक रेफ्री लिलाम्बर चौधरी र राजु चौधरी तथा फोर्थ अफिसियल रियाजुल इस्लाम रहेका थिए।

आइतबार हुने पहिलो चरणको खेल वडा नं. १ र वडा नं. १२ बीच दिउँसो २ बजे तथा दोस्रो चरणको खेल वडा नं. ३ र वडा नं. ८ बीच दिउँसो ३ बजे सोही रंगशालामा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय