निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा यस वर्षको बालाचतुर्थी मेला आजदेखि शुरु भएको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ब्यानर पढेर उद्धाटन गरेपछि आज रातिबाट मेला शुरु भएको हो ।
मंसिर २ गतेसम्म लाग्ने मेलामा मनोरञ्जका स्टलसहित सांगितिक कार्यक्रम पनि संचालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर लामाले जानकारी दिनुभयो ।
मेलामा चर्चित गायक रचना रिमाल, नेपाल आइडलकी टप टेन पिटु गहतराज, लोकदोहोरी गायिका प्रमिला मगर, विश्व दोङ्गल, बबिना किरातीलगायत राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु र एस डान्स ग्रुपले प्रस्तुति दिने उहाँले जानकारी दिनुभयो ।
बालाचतुर्थी पर्वको अवसरमा हरेक वर्ष बालाचतुर्थी पर्वको दिन भक्तजनहरुले मन्दिर परिसरमा भेला भएर रातभरि जाग्राम बस्ने र मृतक आफन्तको संझनामा बत्ति बाल्ने गरिन्छ । सोही क्रममा मन्दिरमा मेला पनि लगाइने गरिएको हो । बकैया खोला किनारामा रहेको नदीकट्टामा पर्ने सो महादेव मन्दिर धार्मिक दृष्टिले निजगढको महत्वपूर्ण स्थलको रुपमा रहेको छ । मन्दिरमा शिव रात्रि र फागुपुर्णिमामा समेत पूजापाठको लागि ठूलो संख्यामा भक्तजनहरु पुग्ने गरेका छन ।



