युथ अफ निजगढ क्लबले करेन्ट लागी ज्यान गुमाएका क्लबका संस्थापक तथा कोषाध्यक्ष स्वर्गीय रबि सापकोटाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। क्लबका सदस्यहरूबाट सङ्कलन गरिएको एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ आज उनकी पत्नी रिता सापकोटालाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम क्लबका अध्यक्ष कमल पराजुलीले जनप्रतिनिधिहरूको उपस्थितिमा बुझाएका थिए। कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, वडाध्यक्ष सुर्य थापा मगरसहित स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण सहभागी थिए। असार २० गते निजगढ–५ मा पोलमा चढेर सिसी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर रबि सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो। क्लबले सामुदायिक दायित्वअनुसार उनका परिवारप्रति सहानुभूति व्यक्त गर्दै सहयोग हस्तान्तरण गरेको जनाएको छ।



