निजगढ गाउँबाट सुरु भएको आफ्नो सिर्जनात्मक यात्रामा दर्जनौँ चुनौती र बाधा पार गर्दै गीतकारको पहिचान बनाएका निर्मल तिमल्सिनाले राष्ट्रिय स्तरमा प्रतिष्ठित पुरस्कार हात पारेका छन। शाह स्टुडियो एण्ड कम्पनीद्वारा आयोजित व्यावसायिक उत्कृष्टता पुरस्कार २०२५ मा तिमल्सिनालाई अडियो-भिडियो म्युजिक राइटिङ क्याटेगोरीमा सम्मान गरिएको हो।

समारोह २०८२ कार्तिक २२ गते (नोभेम्बर ८, २०२५) मा नेपाल चलचित्र विकास बोर्डको हल, काठमाडौँमा भव्यरूपमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, साहित्यकार तथा उद्योग–व्यवसायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा तिमल्सिनालाई प्रशस्ति-पत्र र अवार्ड प्रदान गरिएको थियो।

पुरस्कारदाताहरूका अनुसार तिमल्सिनाले गीत-साहित्यमा देखाएको अतुलनीय दृष्टि, सृजनात्मकता र अविरल समर्पण नै अवार्ड चयनका मुख्य आधार हुन। निरन्तरता, सरल भाषिक शैली र भावनालाई गीतमा प्रस्तुत गर्ने उनको कौशलले हाल उनी युवापुस्तामाझ विशेष लोकप्रिय छन।

पर्सागढी नगरपालिका-४ बर्वाटाँडीमा जन्मिएका तिमल्सिनाको बाल्यकाल साधारण परिवेशमा बित्यो। परिवार र आर्थिक चुनौतीका बाबजुद पनि उनले गीत लेखनप्रति देखाएको मोह कहिल्यै मर्दैन भन्ने कुरा उनका गीतहरूले प्रस्ट पार्छ। विशेषतः महसुस गर्नु छ तिम्रै मायाको र झरी बनी बर्सिए म जस्ता गीतहरूले उनलाई द्रोही-प्रशंसक बीच चिनाए।

अवार्ड थाप्दै तिमल्सिनाले गीत–संगीतप्रतिको यात्रामा आफ्नो क्षमतामा भरोसा राख्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो सिर्जना सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।

उनले भने, निजगढको सानो गाउँबाट सुरु भएको यात्राले आज यहाँसम्म र्पुयाउँदा यो अवार्ड मेरो मात्र होइन, संघर्षसँगै हिँड्ने हरेक व्यक्तिको प्रेरणाको प्रतीक हो।

संगीत क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा पहिचान बनाइरहेका तिमल्सिनाको यो अवार्डले नेपाली गीत-साहित्यमा थप उत्साह र ऊर्जा थपेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय