बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढको दशौं साधारण सभा तथा सातौं अधिवेशनले संघलाई शाखाबाट नगरमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। अधिवेशनको बन्द सत्रले जयन्त कुशवाहाको संयोजकत्वमा २५ सदस्यीय बारा उद्योग वाणिज्य संघ सिम्रौनगढ नगर तदर्थ समिति गठन गरेको हो।

बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न बन्द सत्रमा बारा उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखालाई अब नगर उद्योग वाणिज्य संघ सिम्रौनगढमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। सो प्रस्ताव राखिएलगत्तै उपस्थित सदस्यहरूले हर्षध्वनीका साथ समर्थन जनाउँदै ताली बजाएर सर्वसम्मत स्वीकृति दिएका थिए। यसलाई सिम्रौनगढका उद्योगी–व्यवसायीहरूको लामो समयदेखिको आकांक्षा पूरा गर्ने ऐतिहासिक कदमको रूपमा लिइएको छ।

समितिको संयोजक चयनका क्रममा तत्कालीन अध्यक्ष लालबाबु प्रसाद कुशवाहा, पूर्व अध्यक्ष जयन्त कुशवाहा, संस्थापक अध्यक्ष रामबाबु प्रसाद कुशवाहा, पूर्व कोषाध्यक्ष मुकेश जयसवाल र सुरेन्द्र कुशवाहाको नाम प्रस्तावित भएका थिए। दुई घण्टा लामो छलफल र रस्साकस्सीपछि चार जनाले स्वेच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका जयन्त कुशवाहालाई निर्वाचन मण्डलले सर्वसम्मत संयोजक घोषित गरेको हो।

तदर्थ समितिमा कुन्दन कुमार, भोला गुप्ता, रामबाबु प्रसाद कुशवाहा, शंकर साह कानु, राजेश पण्डित, रजनीश कुशवाहा, बिशुन साह, रामप्रसाद गुप्ता, मनोज जयसवाल, राजु गुप्ता, सन्तोष कुमार कुशवाहा, निरज कुशवाहा, धर्मेन्द्र जयसवाल, मुकेश प्रसाद, समिउल्लाह अन्सारी, श्रीभगवान सिंह, अखलेश कुशवाहा, कन्हैया कुमार र रिजवान अन्सारीलगायत सदस्य रहेका छन। समितिले आगामी छ महिनाभित्र नगर उद्योग वाणिज्य संघ सिम्रौनगढको विधिवत दर्ता प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

शनिबार संघकै सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवारले पानसमा बत्ती बालेर गरेका थिए। उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख कलवारले सिम्रौनगढ ऐतिहासिक, धार्मिक र कृषि उत्पादनको दृष्टिले सम्भावनायुक्त क्षेत्र भएकाले यसको समग्र विकासका लागि स्थानीय सरकार, उद्योग व्यवसायी, स्थानिय व्यापारी र जनसमुदायको साझा पहल अपरिहार्य रहेको बताए। उनले विकासका लागि केन्द्रमा मात्र निर्भर नहुन र स्थानीय तहबाटै योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा बारा उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साहले सीमाक्षेत्रबाट हुने कारोबार उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीका लागि मुख्य चुनौतीको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि संघले अर्थमन्त्रीसम्म विषय उठाइसकेको जानकारी दिए। साथै, उनले नेपाली बजारमा अहिले भारतभन्दा कम मूल्यमा सामान उपलब्ध हुन थालेको उल्लेख गर्दै स्वदेशी उत्पादनप्रतिको विश्वास बढाउन ग्राहकहरूलाई आग्रह गरे। उनका अनुसार, सिम्रौनगढ क्षेत्र व्यापारिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भएको र यसलाई नगरस्तरको संघमा रूपान्तरण गर्दा व्यवसायीहरूको पहुँच, पहिचान र आवाज अझ प्रभावकारी हुने विश्वास प्रकट गरेका थिए ।

कार्यक्रममा कलैया उद्योग वाणिज्य संघका महासचिव राम असिस साह, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, काल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईं, जनप्रतिनिधि, विभिन्न व्यवसायी, व्यापारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पप्पु यादवले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय