निजगढ, २ दिनदेखि जारी वर्षाका कारण जोखिम उत्पन्न हुन सक्नेभन्दै निजगढ नगरपालिकाले नगरवासी र वडा कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले निजगढसहित देशका विभिन्न स्थानमा भइरहेको वर्षाले नदीहरूमा आकस्मिक बाढीको जोखिम उत्पन्न हुनसक्नेभन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले बिहीवार एउटा सूचना निकालेर उच्च सतर्कता अपनाउन नगरबासीमा आग्रह गर्नुभएको हो ।
सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय उद्धृत गर्दै कार्तिक १३ देखि १५ गतेसम्म नदीहरुमा आकस्मिक वहावको उच्च जोखिम रहने उल्लेख गरिएको छ ।
सूचनामा नगरवासीहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न, डुवान हुनसक्ने बस्तीका बासिन्दाले सुरक्षित स्थानको पहिचान गर्न, नदी किनाराका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित ठाउँमा सार्न आग्रह गरिएको छ ।
त्यस्तै, धान र अन्य बाली तत्काल भित्र्याउन, विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार सवारी आवागमन नियन्त्रण गर्न र तीनवटै सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय तहहरू तयारी अवस्थामा रहन निर्देशन पनि दिइएको छ ।
नगरपालिकाले बाढी, डुवान वा विपद् सम्भावनाका क्षेत्रहरूमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सचेत रहन, आवश्यक परे स्थानीय विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बाराको निजगढस्थित लालबकैयालगायत, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका नदीहरुमा ठूलो बाढी आउनसक्ने पूर्वानुमान गरेको छ ।



