गोकुल घोरसाइने

निजगढ,

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट कार्यालय ध्वँस्त बनेपछि निजगढ नगरपालिकाले पार्किङ्गस्थलबाट कार्यालयको सेवा सुरु गरेको छ ।

भदौ २४ गते आन्दोलनकारी समूहको आगजनी र तोडफोडबाट कार्यालय भवन र सामाग्रीहरु नष्ट भएपछि कर्मचारीहरुले नगरपालिका परिसरमा रहेको सवारी साधन पार्किङस्थलमा बसेर अत्यावश्यक सेवा सुरु गरेका हुन । काम गर्ने स्थान र सामग्रीको अभावका बाबजुद शंभव भएसम्मको सेवा उपलब्ध गराउन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो ।

आगजनी र तोडफोडपछि गत बिहीबार कर्मचारी र जनप्रतिनिधिले कार्यालय सरसफाइ गरेर शुक्रबारदेखि पार्किङस्थलमा टेबलकुर्सी राखेर सामान्य सेवा सुरु गरिएको हो ।
‘आगजनी र तोडफोडबाट भवनभित्रका कोठा र कर्मचारीले काम गर्ने सबै सामग्री नष्ट भएका छन, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो, यद्यपि सिमित स्रो साधनको प्रयोगबाट अत्यावश्यक सेवा भने उपलब्ध गराउन थालेका छौ ।’

कार्यालयले वडा कार्यालयहरुबाट सिफारिस लिएर आएका सेवाग्राहीहरुको लागि आवश्यक सेवासहित विपद्, शिक्षा, स्वास्थ्य, आर्थिक प्रशासन, कृषि, राजस्व संकलन जस्ता सेवा सुरु गरेको छ ।

आगजनीले धेरै वर्ष पुराना अभिलेख, शाखाका फाइल, फर्निचर, कम्प्युटर, ल्यापटप लगायत सबै सामग्री र उपकरण जलेर खरानी भएको कार्यालयका प्रशासन शाखा अधिकृत अजय उप्रेतीले जानकारी दिनुभयो । नयाँ काम र सेवा उपलब्ध गराउन केही सहज भएपनि पुराना फाइलसंग सम्बिन्धित सेवा भने तत्कालै दिन सकिने अवस्था नरहेको उहाँको भनाई छ । दशैंपछि मात्रै पूर्ववत रुपमा कार्यालयको सेवा संचालनमा ल्याउने गरी तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

‘शिक्षा, स्वास्थ्य, कृषि, राजस्व, आर्थिक प्रशासन शाखाका कम्प्युटर, ल्यापटप, फर्निचरलगायत सबै उपकरण र कागजपत्र नष्ट भएका छन, उप्रेतीले भन्नुभयो, यस्तो अवस्थामा कहाँबाट कसरी सेवा संचालन गर्ने भन्ने समस्या छ ।’ वर्षौ पुराना अभिलेख तथा कागजपत्र खोजी–खोजी जलाइएको र कसले कुन उद्देश्यले आगजनी गरेको भन्ने प्रस्ट नभएको पनि उहाँले बताउनुभयो । अत्यावश्यक सेवा सुरु गरे पनि अन्य सेवा कसरी सुरु गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

आन्दोलनमा निजगढ नगरपालिकाको १३ वडामध्ये १०, ११ र १३ नम्बर वडा कार्यालयबाहेक १० वटामा आगजनी भएको छ । आगजनीबाट वडा नम्बर १२ को कार्यालय भवन नै ध्वस्त भएको छ भने अन्य कार्यालयहरुमा सबै सामान र कागजपत्र बाहिर निकालेर नष्ट पारिएको थियो ।

आगजनी र तोडफोडबाट निजगढ नगरपालिका कार्यालयमा ३ करोड मूल्य बराबरको भौतिक सम्पतिमा क्षति पुगेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभएको हो । उहाँले नगरपालिकाको मुख्य प्रशासनिक भवनबाहेक २ करोड ९६ लाख ४९ हजार ८४६ रुपैया बराबरको क्षति भएको उल्लेख गर्नुभयो । प्राविधिक टोलीमार्फत वडा कार्यालय र प्रशासनिक भवनमा पुगेको क्षतिको विवरण संकलन कार्य जारी रहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय