निजगढ,

हिंसक वन्यजन्तुको गतिविधि बढेपछि पर्सा राष्ट्रिय निकुञ्जले वरपरको राजमार्ग क्षेत्रमा सवारी साधन रोक्न निषेध गरेको छ ।

बाघको आक्रमणबाट गत बुधवार राजमार्ग क्षेत्रको जंगलमा स्थानीय एकजनाको ज्यान गएपछि निकुञ्ज कार्यालय आदाभारले सडक क्षेत्रमा सवारी साधन रोक्न रोक लगाएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बिहीवार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयालाई पत्र पठाउँदै पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जंगल क्षेत्रमा सवारी साधन रोक्न नदिन सहयोग माग्नुभएको छ । खतिवडाले निकुञ्ज क्षेत्रमा सवारी साधन रोकेर यात्रु ओर्लदा वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम उच्च हुने भएकोले सवारी साधन रोक्ने कार्यमा रोक लगाउनुपर्ने बताउनुभएको छ । उहाँले ट्राफिक प्रहरीसंगै निकुञ्ज कार्यालयले पनि राजमार्ग क्षेत्रमा नियमित अनुगमन गर्ने जानकारी दिनुभएको छ ।

निकुञ्जका अनुसार पछिल्लो समय सो क्षेत्रमा बाघ, चितुवा र हात्तीको गतिविधि बढ्दो छ । खतिवडाले आम नागरिकलाई पनि सचेत रहन आग्रह गर्नुभएको छ ।

गत बुधबार बिहान पथलैया–अमलेखगञ्ज सडकखण्डको आधाभार जंगलमा जीतपुरसिमरा २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा मृत भेटिएका थिए ।

घरबाट घाँस लिन निकुञ्जको जंगल गएका शर्मालाई बाघले आक्रमण गरेको आशंका गरिएको छ । शर्माको शव राजमार्गबाट करिब तीन सय मिटर भित्र फेला परेको थियो । उनको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा बाघको आक्रमण नै हुनसक्ने उहाँको भनाई छ ।

यसअघि असार ४ गते जीतपुरसिमरा– २१ को निकुञ्जको जंगलमा बाघको आक्रमणमा परी ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय