निजगढ, निजगढ तिलगंगा आँखा अस्पतालले आज १ सय १५ जना मोतियाविन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ ।
अस्पतालले निजगढ नगरपालिकालगायत बारा र रौतहट जिल्लाका विभिन्न पालिकामा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीहरु निजगढमा ल्याएर शल्यक्रिया गरेको हो ।
तिलगंगाले बाराको कलैया उपमहानगरपालिका, रौतहटको गुजारा नगरपालिका, फतुवा विजयपुर र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा आयोजना गरेको शिविरमा ८ सय ५० जना बिरामीको आँखा जाँच गरिएको थियो । सो शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीहरुलाई निजगढ तिलगंगा अस्पतालमा ल्याएर शल्यक्रिया गरिएको हो ।
त्यसैगरी जीतपुरसिरा उपमहानगरपालिका– १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको संयुक्त आयोजनामा भएको एकदिने निःशुल्क आँखा परीक्षण शिविरमा फेला परेका मोतियाविन्दुका २९ जना बिरामीहरुको पनि अस्पतालमा शल्यक्रिया गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका– १७ को रामनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुरमा शुक्रवार आयोजित शिविरमा कुल १८५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए ।
परीक्षणमा सहभागीमध्ये २९ जनामा मोतियाविन्दु रोग देखिएपछि निजगढ ल्याएर हिजो शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा तिलगंगा आँखा अस्पतालका दृष्टि विशेषज्ञ रन्जना चौधरी, नेत्र सहायक गजेन्द्र महत्तो र नेत्र स्वास्थ्यकर्ता पुर्नदेव चौधरीले सेवा प्रदान गरेका थिए । यस्तै, आयोजक सहकारी संस्थाका पक्षबाट अध्यक्ष नयनकला खड्का, कर्मचारी मुना न्यौपाने, चमेली लोप्चन र लिलावती चौधरी सहजीकरणमा खटिएका थिए ।



