निजगढ,
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले होटल व्यवसायीहरुले आफ्ना ग्राहकहरुलाई खानासंगै व्यवहार पनि राम्रो गर्नुपर्ने बताउनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको आयोजनामा निजगढका होमस्टे÷होटल रेष्टुरेण्ट÷क्यान्टिन व्यवसाय संचालकहरुको लागि गरिएको खाद्य स्वच्छता सम्बन्धी २ दिने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘खानामात्रै स्वच्छ दिएर पुग्दैन, उहाँले भन्नुभयो, व्यवसायीहरुले ग्राहकहरुसंग पनि मिठो व्यवहार गर्नुपर्छ ।’
ग्राहकलाई सन्तुष्टि दिएर संचालन गर्न सकियो भने व्यवसाय फस्टाउने पनि उहाँको भनाई थियो ।
होटल तथा पर्यटन व्यवसायी संघ निजगढको व्यवस्थापनमा भएको सो तालिममा वरिष्ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दहालले जंक फुड तथा यसको दुस्प्रभावबाट बालबालिकाहरूलाई बचाउने उपायको बारेमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख एंव खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंहले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनी व्यवस्था, खाद्य निरीक्षक अधिकृत प्रमोद बुढाथोकीले खाद्य स्वच्छता तथा गुणस्तर र निरीक्षण अधिकृत प्रदीप संगौलाले खाद्य स्वच्छता कायम गर्न होटल रेष्टुरेन्टले पालना गर्नुपर्ने चेक लिस्ट तथा खाद्य निरीक्षक अधिकृत जगतप्रकाश चौधरीले र बारा पर्सा जिल्लाको होमस्टे होटल रेष्टुरेण्ट÷क्यान्टिन अनुगमनको अवस्था बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
निजगढ ९ स्थित होटल राजमार्गको सभा हलमा भएको सो तालिमको हिजो दिउसो समापन भएको हो ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रामकृष्ण नेपालले होटल, रेष्टुरेन्ट तथा नास्ता पसलहरुमा बिक्री गरिने खाद्यान्नको गुणस्तर कायम राखेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरेर व्यवसाय प्रबद्र्धन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।



