निजगढ,
गत फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा सदस्य पदमा बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले निर्वाचन खर्च विवरण बुझाउनुभएको छ ।
मैनालीले जिल्ला निर्वाचन कार्यालय कलैया र निर्वाचन आयोग काठमाण्डौंमा पेस गरेको विवरणअनुसार करिब १२ लाख १८ हजार १४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
मैनालीले निर्वाचन अवधिभरि प्रयोग गरेको २ वटा सवारी साधनको भाडा र इन्धन, सम्पर्क कार्यालय संचालन, मतदाता घरदैलो कार्यक्रम, मतदाता प्रशिक्षण तथा मतदान केन्द्रमा मतदान प्रतिनिधि व्यवस्थापनमा खाना÷खाजा, प्रचार प्रसार सामग्री तथा छपाइ, स्टेशनरी, उम्मेदवार धरौटी र सम्पर्क कार्यालयमा फर्निचर खरिद जस्ता शीर्षकमा खर्च भएको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले यसअघि नै खर्च विवरण बुझाइसक्नुभएको छ । उहाँले आयोगमा पेश गरेको विवरणअनुसार करिब २० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
बुढाथोकीले बुझाएको विवरणमा निर्वाचन अवधिभर प्रचार–प्रसार, सवारी व्यवस्थापन, कार्यकर्ता परिचालन तथा विभिन्न कार्यक्रमहरूमा उक्त रकम खर्च गरिएको जनाइएको छ । खर्च विवरणमा पोस्टर, पम्प्लेट, सभा–समारोह तथा घरदैलो अभियानका लागि गरिएको खर्च मुख्य रूपमा समावेश गरिएको छ ।
निर्वाचन आयोगले तोकेको अनुसूची– ४१ (दफा ८० को उपदफा (२) र (३) सँग सम्बन्धित) मापदण्डअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार उम्मेदवारहरुले पनि निर्वाचन खर्च विवरण पेश गरेका हुन ।
आयोगले उम्मेदवारहरुले पेस गरेको विवरणहरूको अध्ययन गरी तोकिएको सीमाभित्र खर्च गरे÷नगरेको मूल्यांकन गर्ने छ ।
निर्वाचनमा रास्वपाका गणेश धिमाल निर्वाचित हुनुभएको थियो । धिमालले ३९ हजार ९ सय ९८ मत पाउदा निकटतम प्रतिस्पर्धि कांग्रेसका केन्दीय सदस्य बुढाथोकीले १४ हजार २ सय २३ मत पाउनुभएको थियो भने एमालेका केन्द्रीय सदस्य मैनालीले ११ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको थियो ।
२०७९ सालमा भएको निर्वाचनमा क्षेत्रबाट एमालेका मैनाली निर्वाचित हुनुभएको थियो ।



