निजगढ, बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गणेश धिमालले आज निजगढ नगरपालिकाका मतदातासंग भेटघाट गर्नुभएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएपछि क्षेत्रका विभिन्न पालिकाहरुमा आयोजना गरिएको ‘धन्यवादसभा’ लाई निरन्तरता दिनेक्रममा सांसद धिमालले निजगढका १३ वटै वडामा पुगेर मतदातालाई धन्यवाद र विकास निर्माण सम्बन्धि गर्नुपर्ने कामको लागि सुझाव समेत संकलन गर्नुभएको हो ।
यस क्रममा मतदाताहरुले सांसद धिमाललाई अवीर र माला लगाएर बधाइ दिनुको साथै किसानहरुलाई सहज रुपमा रसायनिक मल उपलब्ध गराइनुपर्ने, जग्गाधनी पुर्जा वितरण गरिनुपर्ने, सिँचाइ र सडक तथा पुल निर्माण जस्ता कार्यहरु गर्न सुझाव दिएका थिए ।
निजगढ ४ स्थित शहिद पार्कमा रहेको शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पणपछि सुरु भएको सो कार्यक्रममा रास्वपा बारा जिल्ला सचिव रामहरी खरेललगायत पार्टीका स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
यसअघि फागुन २५ गतेको लागि निजगढमा निर्धारण गरिएकोे ‘धन्यवादसभा’ सांसद धिमालले आकस्मिक रुपमा स्थगित गर्नुभएको थियो । सांसद धिमालले भोलि कोल्हबी नगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासंग भेटघाट र सुझाव संकलन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।



