बाराको निजगढ नगरपालिका क्षेत्रमा अवैध बालुवा उत्खनन रोक्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले बकैया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार गरिरहेका तीन वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार बिहिवार बिहान ७ः३० बजे निजगढ नगरपालिकाको वडा नम्बर ९ स्थित बकैया खोलामा अवैध उत्खनन भइरहेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचनालाई गम्भीरतापूर्वक निजगढ प्रहरीको टोली बकैया खोलामा खटिएको थियो।

प्रहरी टोली खोलामा पुग्दा खोलाबाट बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गरिँदै गरेको र केही ट्रयाक्टरहरू भित्री बाटो हुँदै बाहिरिँदै गरेको अवस्थामा फेला परेको थियो। सो क्रममा बिल–बिजक तथा कानुनी कागजात बिना बालुवा बोकेर आवतजावत गरिरहेका तीन वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूमा बागमती प्रदेश २–०३–००१ त १८०८, ना ७ त ३०१ र मधेश प्रदेश २–०३–००१ त ७४६५ रहेका छन।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नियन्त्रणमा लिइएका ट्रयाक्टरहरू हाल इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ भने सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाकारी दिए।

प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण गर्न नियमित अनुगमन तथा गस्तीलाई थप कडाइ गर्ने बताएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न नहुन तथा यस्ता घटना देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय