प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा उल्लेख्य सङ्ख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार यस क्षेत्रमा ५ हजार २९६ मत बदर भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेका थिए । तीमध्ये ८० हजार ५८१ मत खसेको थियो । खसेका मतमध्ये ७५ हजार २८५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ भने बाँकी ५ हजार २९६ मत बदर भएका हुन् ।
यस निर्वाचन क्षेत्रमा काल्हवी नगरपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका गरी ५ वटा पालिका समावेश छन् । ती पालिकाअन्तर्गत ४८ वडा पर्दछन् । निर्वाचनका लागि यस क्षेत्रमा ८६ मतदान स्थल र १६१ मतदान केन्द्र कायम गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाउने, मतपत्रको निर्धारित स्थानभन्दा बाहिर छाप लगाउने, अस्पष्ट छाप पर्ने तथा कतिपय अवस्थामा सबै उम्मेदवारको चुनाव चिह्नमा छाप लगाउने जस्ता कारणले मत बदर हुने गरेको पाइएको छ ।
निर्वाचनअघि विभिन्न स्थानमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव अपेक्षाअनुसार नदेखिएको अधिकारीहरूको भनाइ छ । मतदातालाई मतदान गर्ने तरिका र मतपत्र प्रयोगबारे पर्याप्त जानकारी नहुँदा बदर मतको सङ्ख्या बढेको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकारीका अनुसार आगामी निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन गाउँ-टोल स्तरसम्म प्रभावकारी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ । विशेषगरी मतदान गर्ने सही तरिका र मतपत्रमा छाप लगाउने विधिबारे स्पष्ट जानकारी दिन सके बदर मत घटाउन सकिने उनको भनाइ छ ।



